काठमाडौं – अनुहारलाई सफा, राम्रो अनि आकर्षक बनाउने इच्छा सबैलाई हुन्छ । त्यसैले डण्डीफोर, कालोपोतो, चाया आउन नदिन तथा अनुहारको छालालाई हेरचाह गर्न बजारमा उपलब्ध विभिन्न प्रकारका क्रिम, मोस्चराइजर प्रयोग गर्ने पनि प्रशस्त छन् ।
क्रिम तथा मोस्चराइजर भन्नासाथ सबै प्रभावकारी तथा फाइदाजनक हुन्छन् भन्ने हुँदैन । कस्तो प्रकारको मोस्चराइजर तथा क्रिम लगाउने भन्नेबारे ज्यादै कम व्यक्तिलाई जानकारी हुने छाला रोग विशेषज्ञहरु बताउँछन् ।
अहिले गर्मी मौसम छ । योे मौसममा घामबाट छालालाई जोगाउनका अतिरिक्त कालोपोतो, चाया, डण्डिफोर, चिल्लो पन तथा सुक्खापन हटाउन कस्ता क्रिम प्रयोग गर्न सकिन्छ भन्नेबारे विज्ञमार्फत नै जानकारी गराउने प्रयास गरिएकाे छ । प्रस्ततु छ, अनुहार सफा, चम्किलो र आकर्षक बनाउने सन्दर्भमा छाला तथा कपाल रोग विशेषज्ञ स्मृति श्रेष्ठकाे सुझाव र टिप्स–
अनुहारमा ‘सन्स् क्रिम’, ‘मोस्चराइजर’ लगाउनुभन्दा अघि आफ्नो छाला कस्तो प्रकारको छ भन्ने थाहा हुन जरुरी हुन्छ । छाला सामान्यतया ४ प्रकारको हुन्छ । त्यसैले आफ्नो छाला कुन प्रकारको छ भन्ने पहिचान गरेर त्यही आधारमा सन्स् क्रिम, मोस्चराइजर लगायतका क्रिम प्रयोग गर्न सकिन्छ।
छालाका प्रकार
१. तैलीय छाला
२. तैलीय सामान्य किसिमको छाला
३. सामान्य छाला
४. धेरै सुक्खा छाला
आफ्नो छाला कुन प्रकारको हो भन्ने कसरी थाहा पाउने ?
छाला रोग विशेषज्ञ विना नै घरमै बसेर सामान्य तरिकाबाट आफ्नो छालाको प्रकार थाहा पाउन सकिन्छ । जब सामान्य फेसवासले अनुहार धोएर एक छिनसम्म मोस्चराइजर नलगाइकन सुक्खा छाडिदिँदा अनुहारको सम्पूर्ण भागबाट धेरै चिल्लो निस्कन्छ कि कुनै कुनै भागबाट मात्रै चिल्लो पदार्थ आउँछ ? अनुहारमा केही पनि फरक हुँदैन कि केही समयपछि अनुहार सुक्खा भएर कसिलो र असजिलो हुन्छ ? यी विषयमा आफैले विचार गर्ने हो भने छालाको प्रकार सहजै थाहा पाउन सकिन्छ ।
अनुहारबाट धेरै चिल्लो पदार्थ आउँछ भने तैलीय छाला (ओयली स्किन) भनेर थाहा पाउनुपर्छ ।
अनुहारमा कतै चिल्लो पदार्थ आउँछ र कतै आउँदैन भने तैलीय सामान्य किसिमको छाला (कम्बिनेसन स्किन) हो भनेर थाहा पाउनुपर्छ ।
केही पनि हुँदैन अर्थात् अनुहार सामान्य नै रहन्छ भने आफ्नो छाला सामान्य छ भनेर बुझ्नु पर्छ । सामान्य छाला भएका मानिस भाग्यमानी मानिन्छन् ।
मुख धोएको एक छिनपछि छाला कसिलो र कक्रक्क हुने, हास्न गाह्रो हुने भएमा ‘ड्राई’ अर्थात् खुक्खा छाला हो भनेर बुझ्न सकिन्छ ।
कस्तो छालामा कस्तो सन्स् क्रिम वा मोस्चराइजर लगाउने ?
अनुहारमा चिल्लो बढी आउँछ भने जेल बेसमा उत्पादन गरिएका मोस्चाराइजर लगाउनुपर्छ । गर्मी याममा जेल बेसमै उत्पादन भएका मोस्चराइजरमै आक्को जेल भनेर लेखिएका जेलहरुको प्रयोग गर्नुपर्छ । यस्तै जाडो याममा मध्यमखालका जेल बेसका क्रिमहरु प्रयोग गर्नुपर्छ ।
— कम्बिनेसन स्किन अर्थात् तैलीय सामान्य किसिमको छाला हुनेहरुलाई भने अरुलाई भन्दा गाह्रो हुन्छ । जस्तै ओयली स्किनवाला फेसवासले अनुहार सफा गर्दा सुख्खा क्षेत्र कक्रक्क हुन्छ । तैलीय सामान्य किसिमको छाला भएको अनुहारको बीचबीचमा सुख्खा क्षेत्र हुन नदिनका लागि त्यस भागमा हल्का फरक खालको मोस्चराइजर लगाउनुपर्छ । यस्तो छाला हुनेहरुले जेन्टल अर्थात छालालाई कोमल बनाउने खालको प्रोडक्टले अनुहार सफा गर्नुपर्छ । यस्ता छाला भएकाले सन्स् क्रिम वा मोस्चाराइजर लगाउँदा जेल बेसका क्रिमहरु प्रयोग गर्नुपर्छ । जेल बेसका सन्स् क्रिम र मोस्चाराइजरले छालालाई सुक्खा र डिहाइडे«ड बनाउन हुँदैन ।
—सामान्य स्किन भएकाहरुलाई भने सजिलो छ । यस्तो छाला हुनेले सामान्य, मुलायम तथा कोमल बनाउने बेसमा उत्पादन भएका सामग्री प्रयोग गर्नुपर्छ ।
—सुक्खा छाला भएकाहरुले छालालाई कोमल बनाउने खालको फेसवासहरुको प्रयोग गर्नुपर्छ । क्रिम, लोसन प्रयोग गर्नुपर्छ ।
—सुक्खा छाला हुनेहरुले दिनमा ३÷४ पटक सन्स् स्क्रिम लगाउनु अगाडि मोस्चाइरजर प्रयोग गर्न अतिआवश्यक पर्छ ।
यी ४ प्रकारका बाहेक अन्य प्रकारका छाला पनि हुनसक्छ । छाला स्वस्थ राख्नका लागि तथा हेरचाह गर्न विभिन्न किसिममा सन्स् क्रिम प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्था सिर्जना भएमा विशेषज्ञलाई नै भेट्नुपर्छ ।
साथीभाइको सुझावको आधारमा जुन पायो त्यही सन्स् क्रिम र मोस्चराइजर अनुहारमा प्रयोग गर्न हुँदैन । किनभने एक जनालाई रामो काम गरेको सन्स् क्रिम र मोस्चराइजर अर्कोलाई राम्रो काम नगर्ने पनि हुन सक्छ । त्यसैले आफ्नो छाला पहिचान गरेरमात्रै क्रिमहरुको प्रयोग गर्नुपर्छ ।
कस्तो सन्स् क्रिम लगाउने भन्ने कुरा मौसम र कस्तो कोठामा बस्ने गरेको छ भन्नेमा पनि भर पर्छ । जस्तै, एसी भएको कोठामा बस्दा एसीमात्रै दिन्छ । तर, मोस्चराइजर दिने एसीभित्र मेसिन छैन भने ओयली स्क्रिनवालाको छाला पनि सुक्खा बनाउँछ । यस्तो बेलामा मोस्चराइजर क्रिम लगाउनु पर्छ ।
ओयली र कम्बिनेसन स्किन हुनेहरुले प्रयोग गर्ने सन्स् क्रिम र मोस्चराइजरमा ‘कमडोजेनिक’ भनेर लेखेको छ कि छैन भन्ने थाहा पाउन एकदमै जरुरी हुन्छ । यसले डण्डीफोर ल्याउन सक्छ । तपाईले प्रयोग गरेको क्रिमहरु जेल बेससँगै कमडोजेनिक छ भने स्किन जुनसुकै प्रकारको भए पनि बिहान वा साँझ मोस्चराइजर, सन्स् क्रिम प्रयोग गर्न बिर्सन हुँदैन । स्किन हेरचाहका लागि जति सन्स् क्रिम महत्वपूर्ण छ, त्यति नै मोस्चराइजर पनि महत्वपूर्ण छ ।