सेवाग्राहीको मुहारमा खुसी ल्याउने गरी काम गर्न प्रदेश अस्पताललाई मुख्यमन्त्री शाहीको निर्देशन

 सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालमा आएका सेवाग्राहीको मुहारमा सधै खुसी ल्याउने गरी काम गर्न प्रदेश अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

उनले अस्पतालले दिने सेवा प्रवाहमा कुनैपनि कमी नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका हुन् । शुक्रबार प्रदेश अस्पतालको निरीक्षणका क्रममा उनले बिरामीको उचित उपचार गर्न र सेवाग्राहीलाई खुसी पार्ने गरी काम गर्न अस्पताललाई निर्देशन दिएका हुन्।

तेस्रो भेरियन्टकोको जोखिमलाई ध्यान दिएर त्यसको तयारीका लागि अस्पताललाई स्रोत साधन सम्पन्न बनाउन मुख्यमन्त्री शाहीको जोड छ । उनका अनुसार प्रर्देश अस्पतालका लागि आवश्यक बजेट विनियोजन गरिसकिएको छ । उक्त बजेटको अधिकतम प्रयोग गर्दै अस्पतालाई अत्याधुनिक बनाउन पर्नेमा उनले जोड दिएका हुन् ।

बजेट कम भएको खण्डमा प्रदेश सरकार त्यसको व्यवस्था मिलाउन तयार रहेको समेत मुख्यमन्त्री शाहीको भनाई छ । कर्णाली प्रदेशको सबैभन्दा विश्वासिलो अस्पतालको रूपमा विकास गर्न सरकार लागिरहेको उनले जानकारी गराए ।

मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरूले प्रदेश अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गराएका छन् ।