रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरुको भेला गर्दै

सत्तारुढ नेपाली कांग्रेसमा १४ औँ महाधिवेशन हुने नहुने बहस चलिरहेका बेला संस्थापन इतर समूहले जिल्ला सभापतिहरुको गोप्य भेला बोलाएको छ। संस्थापन इतर समूहले आफूपक्षीय जिल्ला सभापतिहरुको ‘गोप्य भेला’ काठमाडौंमा आयोजना गर्ने भएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुको यही साउन २५ गते काठमाडौंमा ‘गोप्य भेला’ हुने भएको हो। पौडेलनिकट एक सभापतिले काठमाडौंमा ‘गोप्य भेला’ आयोजना गर्ने तयारी भइरहेको नेपालखबरलाई जानकारी दिए।

‘१४ औँ महाधिवेशन हुने नहुने विषयमा छलफल गर्न हामी गोप्य भेला गर्न गइरहेका छौं,’ उनले भने। भेलामा देशभरबाट संस्थापन इतर समूहका जिल्ला सभापतिहरु सहभागी हुने ती नेताले बताएका छन्।

पौडेल समूहमै रहेका काठमाडौं नजिकैको एक जिल्लाका अर्का सभापतिले पनि आफूहरु भेलाको तयारीमा रहेको जानकारी दिएका छन्।

‘हामीबीच भेला गर्ने कि भन्नेमा छलफल चलिरहेको छ। मिति र स्थान तय गरिसकेका छैनौं,’ उनले भने, ‘मिति र स्थान तय भएपछि हामी जानकारी दिने छौँ।’