दार्चुला घटना प्रकरणमा सरकारले उल्टै भारतको पक्ष लिएको सांसदहरूको आरोप

पल्पसा डंगोल बचाउन कोमल वलीको माग

काठमाडौं – राष्ट्रिय सभाको बुधबारको बैठकमा शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद कविता बोगटीले दार्चुलाका जयसिंह धामी प्रकरणमा सरकारले भारतीय पक्षकै पक्षपोषण गररेको भन्दै आम नेपालीलाई सशंकित बनाएको बताइन्।

घटनाको छानबिन गर्न संसदीय समितिको गठन गर्न उनले माग गरिन्। ‘सरकारले उल्टै भारतीय पक्षको पक्षपोषण गर्नुले परमादेशी सरकारको रवैयाप्रति आम नेपालीलाई सशंकित र आतंकित बनाएको छ। यस घटनाको सत्यतथ्य छानबिन गर्न, संसदीय समितिको गठन गर्न सरकार सँग माग गदै पीडित परिवारलाई उचित क्षतिपूर्तिका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु’, उनले भनिन्।

त्यसैगरी सांसद कोमल वलीले देशमा कलाकारहरूले ठूलो योगदान गर्ने भए पनि कलाकारलाई अप्ठ्यारो परेको बेलामा सरकारले सहयोग नगर्ने गरेको दुखेसो गरिन्।

हाल कलाकार पल्पसा डंगोल मृगौला रोगका कारण जीवन र मृत्युको दोसाधमा रहेकी भन्दै उपचारमा सहयोग गर्न सरकारसँग माग गरिन्। उनले भनिन्, ुकलाकार डंगोलको स्वास्थ्यउपचारका लागि सरकारले सक्दो सहयोग गरोस् भनेर यही सदनबाट प्रधानमन्त्रीज्यूसँग माग गर्दछु।’

यसैगरी सांसद उदया शर्मा पौड्यालले ट्याक्सीले मनोमानी भाडा असुल्ने गरेको भन्दै त्यसलाई नियमन गर्न सरकारको ध्यानाकर्षण गराइन्। मिटरमा भाडादर निर्धारण गर्नुपर्ने उनले बताइन्।

भनिन्, ‘ट्याक्सी चालकको समेत प्रतिनिधित्व हुनेगरी नियामक निकायले सबै समस्यालाई समाधान गर्ने, मिटरमा भाडादर निर्धारण गर्ने काम गर्नुपर्‍यो। ट्याक्सी चालक पनि मर्कामा नपर्ने र यात्रुले पनि सुलभ सेवा पाउने व्यवस्था यथाशीघ्र होस्।’ थाहाखबर