यसरी मनाइदैंछ नेपालमा विश्व स्तनपान सप्ताह

काठमाडौं—संसारभर आजबाट विश्व स्तनपान सप्ताह मनाइदैंछ । परिवार कल्याण महाशाखाले स्तनपान दिवसको अवसर पारेर विभिन्न सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ ।

आइतबार स्तनपान सप्ताहको पहिलो दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार शाखाले सोमबार मातृ शिशु कार्यक्रम लागु भएका अस्पतालहरुमा छलफलको कार्यक्रम गर्ने भएको छ । यस्तै, मंगलबार स्तनपानबारेमा बृहत सेमिनार आयोजना गर्दैछ । बुधबार नेपाल टेलिभिजनबाट प्रसारण हुने जनस्वास्थ्य सम्बन्धि कार्यक्रममा स्तनपान सम्बन्धि बहस हुनेछ ।

यस्तै, बिहीबार र शुक्रबार समुदाय तथा वर्थिङ सेन्टरमा स्तनपानका बारेमा अनुगमन भ्रमण गर्ने कार्यक्रम छ । स्तनपान सप्ताहको सातौ दिन अर्थात शनिबार सप्ताहव्यापी कार्यक्रमको समीक्षा हुनेछ । यो अवधिमा प्रदेश तथा स्थानीय तहमा पनि विविध गतिविधीहरु हुनेछन् ।

स्वास्थ्य संस्था, सार्वजनिक स्थलहरुमा स्तनपानको महत्व झल्किने खालका फलेक्स राख्ने, स्तनपानको महत्वका बारेमा माइकिङ गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको जनस्वास्थ्यका मापदण्डहरु परिपालन गरी प्रचार—प्रसारका गतिविधी गरिनेछ । यस्तै, स्तनपान सप्ताहमा स्थानीय सञ्चार माध्यममार्फत स्तनपानको महत्वका बारेमा सूचना सम्प्रेषण गर्ने, रेडियो तथा टेलिभिजनमा अन्तक्रिया तथा बहस कार्यक्रम गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गरी महिला स्वास्थ्य स्वयंसेविकामार्फत स्तनपान गराउने आमाहरु र परिवारका सदस्यलाई स्तनपानको महत्व, कोभिड संक्रमित भएकी आमाले सावधानी अपनाएर स्तनपान गराउनुपर्नेलगायतका परामर्श गरिनेछ ।

यसैगरी, स्तनपान गराइरहेका आमा, गर्भवती महिलाहरुलाई स्तनपानको महत्वका बारेमा फोन वा मोबाइलबाट सन्देश पठाइनेछ । यस पटक ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ साउन १७ गतदेखि २३ गतेसम्म विश्व स्तनपान सप्ताह मनाइनेछ । सन् १९९२ देखि हरेक वर्ष संसारभर स्तनपान सप्ताह मनाइन्छ ।हेल्थ आवाज