तुइन काट्ने एसएसबीविरुद्ध भारतीय प्रहरीमा उजुरी

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–२ को मालघाटमा महाकाली नदी माथी तुइनतरेर भारततर्फ जाने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनकाटीदिदाँ व्यासका स्थानीय जयसिह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका छन्। उनी अझै फेला परेका छैनन्।

तुइनकाट्ने एसएसबीका जवानहरु विरुद्ध वेपत्ता धामीका आफन्तले तुइननजिकको क्षेत्रमा रहेको भारतको पिथौरागढ जिल्ला धार्चुला तहशिलको पागला प्रहरी थानामा उजुरी दिएका छन्।

भारत स्वतन्त्र हुनुभन्दा पहिलेदेखि नेपाल भारतको क्षेत्रमा आवतजावतका लागि तुईनहरु लगाइँदै आएको तथा नेपाल भारतका नागरिकहरुको आपसी सम्बन्धका कारण पनि यसरी सीमा क्षेत्रमा आवतजावत हँुदै आइरहेको उजुरीमा भारतीय प्रहरीलाई जानकारी गराइएको छ।

घटना भएपछि एसएसबीका जवानहरु भागेको तथा त्यस क्षेत्रमा रहेका नेपालीहरुलाई यसबारे कसैलाई नभन्न धम्क्याएको समेत उजुरीमा प्रहरीलाई जानकारी गराइएको छ।उक्त घटनाबारे मुचुल्का लिई प्राथमिक रिपोर्ट बनाउनका लागि पागला प्रहरीलाई स्थानीय बहादुर सिह धामी र जोगा सिह धामीले उजुरीपत्र दिएका हुन्। घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कारवाही गर्न आफन्तहरुले दार्चुला र भारत दुबैतर्फका प्रशासनलाई अनुरोध गरेका छन्। एसएसबीले तुइनकाट्दा धामी नदीमा खसेको भन्दै तुइनकाट्ने एसएसबीका जवानहरुलाई कारवाही हुनुपर्ने माग सहित व्यासका स्थानीयहरुले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापन पत्र बुझाएका छन्।

व्यास गाउँपालिका–२ मालका पाँच/ छ जना स्थानीय शुक्रबार मालघाटमा महाकाली नदी माथि तुइनतरेर भारतको बाटो हुदै दार्चुला सदरमुकाम खलंगा बजार आउन लागेका थिए। दुई जना महाकाली नदीमा तुइनतरि भारतको सडकमा पुगिसकेका थिए। तुईनमा तर्ने पालो जयसिह धामीको थियो। धामी तर्ने बेला दुई जना भारतीय एसएसबी पुगेको तथा तुईनमा तर्दै गर्दा तार काटीदिदाँ तार सहित मान्छे नदीमा खसेको स्थानीयको भनाई छ। अनिता धामी, कल्यानसिंह धामी र विक्रमसिह रङकोलीले उक्त घटना प्रत्यक्ष देखेको प्रमुख जिल्ला अधिकारीलाई दिएको ज्ञापन पत्रमा उल्लेख छ।

बाच्न पाउने मानिसको न्युनतम् अधिकारलाई चुनौति दिँदै तुइनकाटेर ज्युदै मान्छे नदीमा बगाएको हुदाँ उक्त घटना गराउने भारतीय एसएबीहरुलाई कडा कारवाहीका लागि पहल गरिदिन आफन्तहरुले प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेका छन्।

नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका छन्। । समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन्। जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको छ।
भारतीय एसएसबीले डोरी चुँडालेको भन्ने कुराको आधिकारिक जानकारी नआएको प्रशासनको भनाइ छ।

उक्त घटनालाई तोडमोड गरी घट्नाको सत्यतथ्य लुकाउन प्रत्यक्षदर्शीलाई नियन्त्रणमा राखिएको निवेदनमा उल्लेख गरिएको छ। बैदेशिक रोजगारीमा जानका लागि गाउँबाट काठमाण्डौँ हिडेँका धामी घर नजिकै महाकालीमा बेपत्ता भएपछि परिवार शोकमा छ। थाहाखबर ।