भूकम्पले घर भत्काएपछि पालमूनि बस्न बाध्य दलित परिवार

सुर्खेत – साउन ३ गते राति ९ बजे पश्चिमी दैलेख केन्द्र बनाएर ४।३ म्याग्निच्युडको भूकम्प गयो । भूकम्पको धक्का त्यति ठूलो त होइन तर ढुंगामाटोले बनेको कच्ची घर भत्किएपछि यहाँका एक दलित परिवारको पालमूनि बस्न बाध्य भएको छ ।

भूकम्पले आठबीस नगरपालिका–३ कुमालखाडाकी जुना विकको घर भत्काएको हो । आर्थिक अवस्था अत्यन्तै दयनीय एकल महिला जुना विक गाउँमै ज्यालादारी गरेर जीवन चलाउँदै छिन् ।भूकम्पले घर भत्काएपछि गाउँलेको सहयोगमा बनेको पालको अस्थायी निपासमा छोरा र छोरीसहित बस्दै आएकी छन् । गाउँमा अरु कसैलाई केहि भएन । उनकै घरमात्र भत्कियो । ‘जसको यो संसारमा केहि छैन, जो सँग कोहि छैन, भूकम्पले पनि त्यस्तैलाई दुख दियो,’ निराश हुँदै उनले भनिन् ।

उनले ज्याला मजदुरी गरेर छोरा छोरी पाल्दै आएकी छन् । ‘गाउँमा काम गरेर कसरी घर बनाउन सकौंला र रु भारतमा गई काम गर्न सक्ने मेरो अवस्था पनि छैन । छोराछोरी सानै छन्,’ उनले भनिन्, ‘कसैले सहयोग गरि घर मात्रै बनाइदिएको भए मेरो उद्दार हुन्थ्यो ।’

यता, आठबीस नगरपालिकाका नगरप्रमुख खडगराज उपाध्यायले उनको घर बनाई दिने आश्वासन दिएका छन् । ‘म अहिले सुर्खेतमा छु । नयाँ बजेट अब कार्यान्वयनमा जान्छ । म नगरपालिका पुग्दा वित्तिकै नगरपालिकाले उनको घर बनाउन सहयोग गर्छ,’ उनले टेलिफोन कुराकानीमा भने, ‘धेरै ठूलो सहयोग गर्न नसके पनि उहाँको परिवारलाई पालबाट छानामा ल्याउन हामी पहल गर्छौं ।’  – नेपालप्रेस