विदेशमा रहेका नेपालीले किनेको एम्बुलेन्स नेपाल सरकारले ल्याउनै दिएन

काठमाडौं – अस्ट्रेलियामा रहेका नेपालीले बागलुङको धौलागिरि अस्पतालका लागि खरिद गरेको एम्बुलेन्स एक महिनादेखि विदेशमै रोकिएको छ। सरकारले एम्बुलेन्स नेपालमा ल्याउन रोक लगाएपछि विदेशमै थन्किएको हो।

एम्बुलेन्स समयमा ल्याउन सरकारले नदिएपछि अहिले अस्पतालमा समस्या भएको छ। अस्पतालका अध्यक्ष केवी रानाका अनुसार एक महिनाअघि त्यहाँ काम गर्ने नेपालीले २८ लाख रुपैयाँ उठाएर ‘टु व्हिल’को एम्बुलेन्स खरिद गर्न भारतको ‘फोर्स मोटर्स लिमिटेड’लाई पैसा बुझाएका थिए। तर,सरकारले नेपाल ल्याउने अनुमति दिएन।

‘त्यहाँ भएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूले पैसा बुझाए पनि सरकारले यहाँ एम्बुलेन्स ल्याउन दिएको छैन,भन्सार छुट पनि गरेको छैन, त्यसैले अहिले त्यही रोकिरहेको छ,’उनले भने।

रानाका अनुसार हाल नेपालमा ‘फोर व्हिल ड्राइभ’ एम्बुलेन्स मात्रै सरकारले चल्न दिएको छ। २०७५ अघिसम्म भने टु व्हिलको एम्बुलेन्स सञ्चालन गर्न दिएकाे थियाे। ‘अहिले खरिद गरिएको एम्बुलेन्स अन्तर्राष्ट्रिय मापदण्डको छ, भरपर्दो र धेरै सुविधा छ,’ उनले भने, ‘त्यसैले टु व्हिलको एम्बुलेन्स पनि तीन वटै सरकारले चलाउन दिनुपर्छ।’

‘सरकार एम्बुलेन्सको व्यवस्था गर्दैन, जनताले किनेको पनि उपयोग गर्न दिँदैन’

अस्पतालका अध्यक्ष रानाका अनुसार अस्पतालमा एम्बुलेन्स नभएपछि यतिखेर बिरामी ओसारपसार गर्न सकिएको छैन। बिरामी एकबाट अर्को अस्पतालमा सेवा लिन पाएका छैनन्।

‘यो ठूलो अस्पताल हो,यहाँ बिरामीको चाप धेरै छ,एक वटा मात्रै एम्बुलेन्स छ,यसले मात्रै बिरामीको चाप थेग्न सक्दैन, बिरामी छटपटाइरहन्छन्,अहिले कोभिड संक्रमण बढिरहेको छ, सरकारले थप एम्बुलेन्स किन्दैन,’ उनले गुनासो पोखे।

सरकार आफै एम्बुलेन्स खरिद नगर्ने र जनताको पसिनाले किनेको पनि चलाउन नदिने भन्दै अध्यक्ष रानाले आक्रोश पोखे। ‘त्यहाँ बसेका नेपालीले अस्पताललाई के सहयोग गर्‍याैँ भनेपछि हामीले एम्बुलेन्सको आवश्यकता छ, त्यही खरिद गरिदिनु न भनेपछि पसिना बगाएको पैसाले एम्बुलेन्स किनेका थिए,’ उनले भने, ‘तर उपयोग गर्न पाइरहेका छैनौँ।’

उनका अनुसार सरकारले भन्सार छुट नगरिदिँदा उक्त एम्बुलेन्स नेपाल ल्याए करिब ८० लाख भन्सार मात्रै तिर्नुपर्ने छ। उक्त मोडलको एम्बुलेन्स सरकारले तत्काल नेपाल भित्र्याउन सहज वातावरण मिलाइदिनुपर्ने माग अरू एम्बुलेन्स व्यवसायीहरूको पनि छ।

एक एम्बुलेन्स व्यवसायीका अनुसार उक्त मोडलको थप चार एम्बुलेन्स नेपाल ल्याउने प्रकृयामा छ। तर,सरकारले त्यो पनि रोक लगाएको छ।

‘हामीले ल्याउन लागेको एम्बुलेन्स विश्व विख्यात मर्सिडिज बेन्च इन्जिनको हो,’ ती व्यवसायीले भने, ‘एम्बुलेन्सभित्र अक्सिजन छ, औषधि, डाक्टर, नर्स बसेर उपचार गर्न सकिन्छ, गाउँघरबाट जहाँ बिरामी लान पनि भरपर्दो छ, तर सरकारले हामीलाई भारतबाट नेपाल ल्याउनै दिएन।’

यसो भन्छ नगरपालिका

बाग्लुङ नगरपालिका नगर प्रमुख जनक राज पौडेल विदेशमा रहेको एम्बुलेन्स ल्याउँदा भन्सार छुट हुनेगरी व्यवस्था गरिदिएको बताउँछन्। ‘एम्बुलेन्स ल्याउनलाई भन्सार विभाग लगायत सबै निकायमा कागजपत्र बनाएर छुट गर्न अनुमति अस्पताललाई दिइसकेको छु,’उनले भने,‘फेरी के कारणले रोकियो यसबारे भने जानकारी भएन।’

उनका अनुसार १६ लाखको एक शववाहन पनि उक्त अस्पतालको लागि मगाइएको छ। ‘सिडियाेको अध्यक्षतामा एम्बुलेन्स सञ्चालन गर्न दिन कार्यविधि बनेको छ, त्यो कार्यविधि मापदण्ड अनुसारको एम्बुलेन्स हो भने यहाँ ल्याएर सञ्चालन गर्न पाउँछन्, मापदण्ड विपरीतको हो भने म बुझेर सिडियो सा’पसँग छलफल गरेर मिल्छ भने सहजीकरण गर्छौ,’ पौडेलले भने।

यता बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले एम्बुलेन्स ल्याउने र सञ्चालन गर्ने विषयमा केही जानकारी जिल्लामा नआएको बताए। जिल्लामा यस विषयको सूचना आएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा थप छलफल गरेर मात्र निर्णय लिन सकिने उनको भनाइ छ। थाहाखबर