धनुषाका युवक भारतमा मृत फेला‚ बैतडीमा मृत फेला महिलाको पहिचान

काठमाडौं – धनुषाको सहिदनगर नगरपालिका-९ का २३ वर्षीय दीपेश रजक भारतमा मृत फेला परेका छन्। श्राद्धको भोज खान भारत गएका उनी असार २७ गते रातिदेखि बेपत्ता थिए।

साथीसँगै भोज खान भारत गएका दीपेश सम्पर्कविहीन भएपछि खोजतलास गरिँदै आएको थियो। खोजतलासको क्रममा शव भारतको बिहार राज्यको छतौनी पञ्चायतस्थित बछराजा नदीमा प्रहरीले फेला पारेको हो। शव फेलाको खबर आएपछि उनका बुवा सतिशनारायण भारत पुगेर नेपाल शव लिएर आएका छन्।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले शव नेपाल ल्याउँदा शरीरमा केही चोटपटक लागेको देखिएको हुँदा हत्या भएको हुन सक्ने आशंका रहेको बताए। दीपेश वैदेशिक रोजगारीबाट ६ महिनाअघि नेपाल फर्किएका थिए। उनी पुनः वैदेशिक रोजगारीमा जाने तयारीमा थिए।

दीपेशका पिता सतिशनारायणले छोराको हत्या नै भएको र हत्यामा संलग्नहरुलाई खोजबिन गरी कानुनअनुसार कारबाही हुनुपर्ने माग गरेका छन्।

यस्तै‚ बैतडीमा शुक्रबार भेटिएको बेवारिसे महिलाको शवको पहिचान भएको छ। शव डडेल्धुराको भागेश्वर गाउँपालिका-३ लामीकाँडेकी ३६ वर्षीया खेट्टी मल्लको रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

महिलाको शव मेलौली नगरपालिका–७ ल्वाथलीमा शुक्रबार बिहान फेला परेको थियो। मल्ल बिहीबार भागेश्वरबाट माइतीघर बैतडीको मेलौली ५ सेरी आउन लागेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ। माइती घर नपुग्दै मल्ल बीचबाटोमै मृत अवस्थामा फेला परेकी हुन्। ती महिलाको मृत्युको कारण भने खुल्न सकेको छैन्।

महिलाको शरिरमा बाहिर देखिने कुनै घाउ तथा चोट नरहेको बताइएको छ । शव परीक्षण शनिबार हुने र त्यसपश्चात मात्रै मृत्यु कारण खुल्ने जनाइएको छ । शव परीक्षणका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ ।

मृतकका श्रीमान रोजगारी सिलसिलामा विदेशमा रहेका बताइएको छ ।

#thahakhabar