कोरोनाको उच्च जोखिमका कारण वीरेन्द्रनगर मातहतका कार्यलय ८ दिनसम्म बन्द

वीरेन्द्रनगर—कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिममा रहेको कर्णाली प्रदेशमा बुधबार २३ जना नयाँ संक्रमित भेटिएका छन् । समुदायस्तरमा संक्रमण देखिन थालेपछि प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर उच्च जोखिममा परेको छ ।

बुधवार पुष्टि भएका २३ मध्ये कुनै पनि ‘ट्राभल हिस्ट्री’ नभएका समुदायस्तरका पाँच जनासमेत छन्। जसका कारण समुदायस्तरमा संक्रमण फैलिएको आशंका गरिएको छ । वीरेन्द्रनगर नगरपालिकामा कोरोना भाइरसको संक्रमणको दर उच्च हुँदै गएपछि भदौ ५ गतेसम्म वीरेन्द्र नगरनगरपालिका र मातहतका सम्पूर्ण वडा कार्यालयहरु बन्द गर्ने निर्णय गरिएको छ । बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले सूचना जारी गर्दै साउन ३० गते शुक्रबारदेखि भदौं ५ गते शुक्रबारसम्मका लागि नगरपालिका र वडा कार्यालयहरुबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको जानकारी दिए । यस अवधिमा कोरोना व्यवस्थापन, स्वास्थ्य सरसफाइ तथा फोहोरमैला व्यवस्थापन र विपद् व्यवस्थापनका कार्यहरु सुचारु हुने नगरपालिकाले जनाएको छ ।

नगरक्षेत्रमा कोरोनाको जोखिम वृद्धि भएसँगै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र होम क्वारेन्टाइनमा बस्न नगरपालिकाले सबैमा अनुरोध गरेको छ । साथै चाडपर्व तथा धार्मिक संस्कृतिक रुपमा भिडभाड हुने गतिविधी संचालन नगर्न समेत नगरपालिकाले भनेको छ । वीरेन्द्रनगरमा बुधबार मात्र १८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमण थप फैलिन नदिन कार्यालय बन्द गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।

वीरेन्द्रनगरमा संक्रमितहरूको पछिल्लो तथ्यांक र संक्रमणको प्रकृति हेर्दा नगर कोरोनाको उच्च जोखिममा रहेको भन्न सकिने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताए । उनले भने, ‘यसले समुदायमा कोभिड–१९ को जोखिम बढी छ भन्ने संकेत दिएको छ । जिल्लाका अन्य पालिकाभन्दा वीरेन्द्रनगर उच्च जोखिममा छ ।’ लकडाउन हट्नु, चाडपर्व नजिकिँदै जानुलगायतका कारणले पनि मानिसहरूको बढी भिड हुने गरेकोले जोखिम बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

वीरेन्द्रनगरमा पछिल्ला केही दिनयता स्थानीय व्यापारी, सवारी चालक, सैलुन व्यवसायी र बाहिरबाट आएका मजदुरहरूमा संक्रमण देखिएको छ । चिकित्सकहरूले हरेक व्यक्तिले स्वास्थ्य सावधानीसहित उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् । सुर्खेतमा हालसम्म ६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ६ सय बढी संक्रमणमुक्त भइसकेका छन् । हालसम्म सुर्खेतमा दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । कर्णाली प्रदेशभर दुई हजार ३४ नाघेको छ भने तीमध्ये एक हजार आठ सय ९४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित थोरै रहे पनि संक्रमणको दर भने उच्च छ । कर्णालीमा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।