एजेन्सी – सरकारले जारी गरेको कोभिड–१९ विरुद्धको नयाँ स्वास्थ्य मापदण्डलाई फ्रान्सेली जनताले विरोध गरेका छन् ।
राष्ट्रपति इम्यानुयल म्याक्रोंनले बार, रेष्टुरेन्टहरू र सिनेमाघरहरूमा प्रवेश गर्न खोप लगाएको प्रमाणपत्र वा पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट आवश्यक पर्ने प्रावधानलाई अघि बढाउन खोजेपछि विरोध भएको छ ।
सरकारी योजनाविरूद्ध उत्रिएका प्रदर्शनकारीहरू र प्रहरीबीच झडप पनि भएको छ । प्रदर्शनकारीहरूको भीड रोक्न प्रहरीले अस्रु ग्यांस प्रयोग गर्नु परेको थियो ।
राष्ट्रपति म्याक्रोनले कोरोना भाइरसविरुद्व लड्न स्वास्थ्यकर्मीहरूलाई अनिवार्य खोप लगायत आम जनताका लागि नयाँ स्वास्थ्य नियमको घोषणा गरेका थिए ।
राष्ट्रपति म्यांक्रोका आलोचकहरुले शपिंग मल्ल, क्याफे, बार र रेष्टुरेन्टहरूमा स्वास्थ्य पास जाँचको व्यवस्थाले मानिसको स्वतन्त्रतालाई कुल्चेको आरोप लगाएका छन् ।
खोपको अनिवार्यता सरकारको मनमानी र पूर्ण अलोकतान्त्रिक व्यवहार भन्दै उनीहरुले सच्याउन आग्रह गरेका छन् । उता राष्ट्रपति म्याक्रोंनले भने खोपले फ्रान्सलाई सामान्य स्थितिमा ल्याउने उत्तम तरिका भएको दाबी गरेका छन् ।
सकेसम्म धेरै व्यक्तिलाई खोप लिन प्रोत्साहित गरिरहेको उनको भनाइ छ ।