‘युनिभर्सल बोस’ले बनाए अर्को कीर्तिमान

काठमाडौं – ‘युनिभर्सल बोस’का उपनामले परिचित वेष्ट इन्डिजका महान् ब्याट्सम्यान क्रिस गेलले नयाँ कीर्तिमान बनाएका छन्। उनी टी–२० क्रिकेटमा १४ हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्।

मंगलबार बिहान अष्ट्रेलियासँगको तेस्रो टी–२० म्याचको दौरान ६७ रन बनाएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन्।

सन् २००५ देखि २०२१ को अवधिमा गेलले ४ सय ३१ खेलमा ४ सय २३ पटक ब्याटिङ गर्दै १४ हजार रन पूरा गरेका हुन्। यसक्रममा उनको उच्च स्कोर १ सय ७५ रहेको छ। यो स्कोर उनले आइपिएलमा बनाएका थिए।

उनले ४ सय ३१ म्याचमा ८७ अर्धशतक र २२ शतकको मद्दतमा १४ हजार रन पुरा गरेका हुन्। त्यस दौरान उनको स्ट्राइक रेट १४६ भन्दामाथि छ। साथै, उनले ४३१ म्याचको ४ सय २३ इनिङमा १ हजार ८२ चौका र १ हजार २८ छक्का प्रहार गरेका छन्।

टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको दोस्रो स्थानमा वेष्ट इन्डिजका कप्तान तथा ब्याट्सम्यान किरन पोलार्ड रहेका छन्।

उनले टी–२० क्रिकेटको ५ सय ४५ म्याचमा १० हजार ८३६ रन बनाएका छन्। यस क्रममा उनको उच्च स्कोर १०४ रहेको छ। यस क्रममा उनले एक शतक र ५४ अर्धशतक बनाएका छन्। साथै ६ सय ८५ चौका र ७ सय ३० छक्का प्रहार गरेका छन्।

यो सूचीको तेस्रो स्थानमा पाकिस्तानका ब्याट्सम्यान शोएब मलिक रहेका छन्। उनले ४ सय २५ म्याचमा ६६ अर्धशतकसहित १० हजार ७ सय ४१ रन बनाएका छन्।

यसक्रममा उनको उच्च स्कोर ९५ रहेको छ। यस दौरान उनले ८ सय ४१ चौका र ३ सय २५ छक्का प्रहार गरेका छन्।

त्यस्तै, चौथो स्थानमा अष्ट्रेलियाका ओपनर डेविड वार्नर रहेका छन्। उनले ३ सय ४ म्याचमा ८ शतक र ४२ अर्धशतकसहित १० हजार १७ रन बनाएका छन्। यस दौरान उनको स्ट्राइक रेट १४०।८० छ। उनको उच्च टी–२० स्कोर १३५ रहेको थियो। साथै उनले ९ सय ७३ चौका र ३ सय ७९ छक्का पनि प्रहार गरेका छन्।

यस सूचीको पाँचौं स्थानमा भारतका कप्तान विराट कोहली रहेका छन्। उनले ३ सय १० म्याचमा ५ शतक र ७२ अर्धशतकसहित ९ हजार ९ सय २२ रन बनाएका छन्।

यस दौरान उनको स्ट्राइक रेट १३४ रहेको छ। उनको उच्च टी–२० स्कोर १ सय १३ रन हो।