सुर्खेतमा एक महिला र पुरुष छुट्टाछुट्टै स्थानमा मृत फेला

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–६ पिपलचौतार नजिक एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। उनको बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे दिउँसो ४ बजेपछि मात्रै विवरण आउने आउन सक्ने जिल्ला प्रहरीका कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए।

यस्तै, वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानका २६ वर्षीय दीपक गौतम मृत फेला परेका छन्। असार २२ गतेदेखि सम्पर्कविहीन दीपक असार २६ गते दिउँसो १ बजे वीरेन्द्रनगर नगरपालिका–२ को एक सामुदायिक वनमा मृत फेला परेको प्रहरी नायव उपरीक्षक मगरले जानकारी दिए।

‘उनलाई खोजी गर्दा असार २६ गते मृत अजस्थामा फेला पारेका हुन्,’ उनले भने, ‘रुखमा डोरीको पासो लगाई उक्त डोरी चुडिएर भुइँमा खसेको अवस्थामा भेटिएका हुन्। बाहिर त्यस्तो कुनै चोटपटक लागेको देखिँदैन्।’

उनको शव आइतबार परिवारले अन्त्येष्टि गरिसकेका छन्। गौतम हुलाक कार्यालय सुर्खेतमा कार्यरत कर्मचारी हुन्। गौतमले आत्महत्या गरेका हुन् वा कसैले हत्या गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मगरले बताए।