सिराहाका युवकको कोरोनाबाट मृत्यु

काठमाडौं- सिराहाको गोलबजारका २५ वर्षीय एक युवकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस गर्दागर्दै उनको बिहीबार राति पौने दश बजे मृत्यु भएको अस्पतालका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए।

‘उहाँ दुई वर्षदेखि किड्नीको डायलासिस गर्दै आउनुभएको रै’छ। हिजो उहाँलाई अस्पताल ल्याइएको थियो। ल्याउनेबित्तिकै हामीले उहाँको डायलासिस गर्दै थियौं। त्यही क्रममा उहाँको राति निधन भयो,’ उनले भने।

युवकमा कोरोना पोजेटिभ देखिएपछि जनकपुर अस्पतालले डायलासिस नहुने भन्दै धरान ‘रिफर’ गरिदिएको थियो।

प्रवक्ता सापकोटाले भने, ‘कोरोना संक्रमितको डायलासिस गर्ने सुविधा यहाँ मात्र छ। त्यसैले उहाँलाई जनकपुरबाट ‘रिफर’ गरिएको हो।’

लहान नगरपालिकामा निषेधाज्ञा

सिराहाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

पछिल्लो समय नगरपालिका वडा नं ८ का एक जनासहित नगर क्षेत्रका २६ मा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ।

छिमेकी जिल्ला सप्तरीमा तीव्ररूपमा संक्रमण फैलिरहेकाले निषेधाज्ञा जारी गरिएको हो।

नगरपालिका कार्यपालिकाको आपतकालीन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको नगर कार्यपालिकाका सदस्य तथा वडा नं ७ का वडाध्यक्ष राकेशरोशन गुप्ताले जानकारी दिए। वडा ८ का संक्रमित व्यक्तिको सम्पर्कमा आएकाको पनि स्वाब संकलनको कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताए।

यसअघि मिर्चैया नगरपालिकाले बिहीबारदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा लकडाउन गरेको छ।

मिर्चैया–६ का दुई स्वास्थ्यकर्मीसहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण थप फैलिन नदिन नगर क्षेत्रमा नगरपालिकाले लकडाउन गरेको नगरप्रमुख श्रवण यादवले जानकारी दिए।सेतोपाटी  ।