शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रधानमन्त्रीले भने- आवेगमा आएर यस्तो काम नगर्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले थरकै आधारमा कोठा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई छुटाउन प्रहरी चौकीमै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ पुगेकोमा त्यस्तो गतिविधि नगर्न ध्यानाकर्षण गरेका छन्।

रूपा सुनारले थरकै आधारमा बबरमहलमा कोठा पाएकी थिइनन्। आफूमाथि जातीय विभेद भएको भन्दै सुनारले मुद्दा दिएपछि प्रहरीले घरबेटी प्रधानलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीबाट छुटाउन मन्त्री श्रेष्ठ प्रहरी चौकी पुगेपछि आलोचना भएको थियो।

प्रधानमन्त्री ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा शिक्षामन्त्री श्रेष्ठलाई आवेशमा आएर त्यस्तो नगर्न ध्यानार्कषण गराएको कानुन मन्त्री लीलानाथ श्रेष्ठले बताए।

कानुन मन्त्रालय सम्हालेको ६ महिना पुगेको अवसरमा मंगलबार पत्रकार सम्मेलन गर्दै कानुन मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन्।

उहाँलाई गाडीमा चढाएर लग्नुभयो, यो दुर्भाग्यपूर्ण कुरा हो। यो राम्रो काम होइन, उनले भने, हिजो प्रधानमन्त्रीले मन्त्रीज्यूलाई ध्यानाकर्षण गराउनु भएको छ। मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुस् है, यो काम तपाईंले जुन गर्नुभयो त्यो ठिक गरेन भन्नुभएको छ है।

शिक्षा मन्त्री श्रेष्ठले गरेको गल्ती आफूहरूले पनि स्वीकार्नुपर्ने बताए। मन्त्री श्रेष्ठ हिरासतमा रहेकी प्रधानलाई छुटाउन महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।

प्रधानले रूपा सुनारमाथि जातीय विभेद गर्दै कोठा भाडामा नदिएको आरोप छ। उनीविरूद्ध वृत्तमा उजुरी परेपछि प्रहरीले प्रधानलाई तीन दिन हिरासतमा लिएर अनुसन्धान अघि बढाएको थियो।

तीन दिनपछि गत बुधबार मन्त्री श्रेष्ठ सरस्वती प्रधानलाई छुटाउन आफैँ वृत्त पुगेका थिए। प्रधानलाई मन्त्री श्रेष्ठले आफैँले गाडीमा राखेर घर पुर्‍याएका थिए।

#setopati