ठूलो चलखेलको गन्धआइरहेको छ, संसद् पुनः स्थापना हुनेमा विश्वस्त बन्नसकेको छैन :प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापना हुनेमा विश्वस्त बन्न नसकेको बताएका छन्।

पेशागत संगठनका व्यक्तित्वसँग विपक्षी पाँच दलीय गठबन्धनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने,‘पुरानो नजिरलाई हेर्दा संसद् पुनःस्थापना हुन्छ भन्नेछ। तर अझैं म विश्वस्त बन्न सकेको छैन।

ठूलो चलखेलको गन्ध मलाई आइरहेको छ।’ संसद् विघटन विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने उनले बताए। ‘अवैधानिक सरकारले गरेको काम सबै मान्य हुँदैन। सरकार भ्रष्ट भइरहेको छ’ उनले भने,‘असंवैधानिक र अलोकतान्त्रीक रुपमा गरिएको निर्णय कुनै पनि हालतमा मान्य हुदैन। हामी त्यो खारेज गछौँ।’

संवैधानिक नियुक्ति पनि खारेज गरेर पुनस्नियुक्ति गर्नुपर्ने उनले बताए। कोरोना महामारीको बेलामा समेत सरकार कमिसनको खेलमा लागेर खोप ल्याउन नसकेको उनले आरोप लगाए। आफूहरुको सरकार बन्नासाथ पहिलो जिम्मेवारी जनताको जिउधनको रक्षा गर्नुपर्ने भएको उनले बताए।

यसअघि पनि अदालतले संसद् पुनःस्थापना गरेकाले अहिले पनि संसद् पुनःस्थापना हुनुपर्ने उनले बताए। सरकारको तर्फबाट संसद् पुनःस्थापना नगर्न अदालतलाई विभिन्न कोणबाट दबाव दिने र धम्काउने खेल भइरहेको उनले दाबी गरे।

व्यक्तिगत स्वार्थका लागि केपी शर्मा ओली जस्तो सहमतिमा समेत हस्ताक्षर गर्न तयार भएको आरोप लगाए। ओलीले आज गरेको सम्बोधनलाई हेर्दा ओली आफै ओरालो लाग्दै गएको प्रष्ट भएको उनले बताए।

आफूले जे गरेपनि हुन्छ भन्ने लागेर ओली संकटकाल लगाउने बिषयमा उदृत भइरहेको दाबी गरे। राष्ट्रपति संस्था ओलीकै कारणले बदनाम भएको उनले बताए।