गुजरातको कोरोना अस्पतालमा आगलागी, आठ संक्रमितको मृत्यु

 काठमाडौं – भारतको गुजरातमा एक कोरोना अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। गुजरातको अहमदाबादस्थित श्रेय अस्पतालमा आगलागी भएर आठ जना कोरोना बिरामीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। श्रेय अस्पताल कोरोना संक्रमितहरुको लागि प्रयोग हुँदै आएको छ। आगो आईसीयू कक्षमा लागेको बताइएको छ। आगलागीमा परी एकजना पारा मेडिकल स्टाफ घाइते भएका छन्। आज बिहान साढे ३ बजे भएको आगलागी साढे ४ बजे आसपास नियन्त्रणमा लिइएको थियो। त्यस अस्पतालको आईसीयूमा १० जना संक्रमितको उपचार भइरहेको थियो। अन्य दुईजनालाई भने सुरक्षित स्थानमा सारिएको बताइएको छ। अस्पतालमा ४९ कोरोना बिरामीहरू उपचाररत रहेका समाचारमा जनाइएको छ। आगलागी पश्चात फोरेन्सिक विभागको टोली अनुसन्धानको लागि पुगेको छ। यस घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरुले दुःख व्यक्त गरेका छन्।