काठमाण्डौ – ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई भोलिदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । ४ सय ५६ मेगावाटमध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गरिने आयोजनाका सीईओ विज्ञान प्रसाद श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।
अहिले पनि केही काम भइरहेको र जुनसुकै बेला परीक्षण हुन सक्ने भएकाले सतर्कता र सुरक्षाको लागि सूचना प्रकाशन गरिएको उहाँले बताउनुभयो । भोलिदेखि १९ गतेसम्म जुनसुकै बेला परीक्षण उत्पादन हुन सक्ने श्रेष्ठको भनाइ छ। यो कामको लागि खिम्ती–लामोसाँघु १३२ केभीको लाइन बन्द हुने र यसका कारण ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट वितरित विद्युत केही समय कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
माथिल्ला तामाकोशी जलविद्युत आयोजनाको विद्युत उत्पादनको मिति पटक(पटक तोकिँदै आए पनि काम सम्पन्न नहुँदा स्थगित हुँदै आएको छ ।
#ujyaaloonline