देशको संवैधानिक व्यवस्थामाथि प्रश्न खडा भयो, यही बेला राप्रपाका मान्यता स्थापित गरौँ : कमल थापा

फाइल तस्बिर

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको बताएका छन् । बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न खडा भएकै धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताए ।

उनले यस्तो बेलामा धक्का दिन सके राप्रपाको मान्यताहरू स्थापित हुने र पार्टी अग्रणी शक्तिको रूपमा स्थापित हुने बताए । विगतका कमी, कमजोरीहरूबाट पाठ सिक्दै, पार्टी एकतालाई अक्षुण राख्दै पार्टीलाई गतिशिल तुल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

“अहिलेको संवैधानिक व्यवस्थामाथि प्रश्नचिन्ह खडा भएको छ । यही प्रश्नचिन्ह खडा भएकै बेलामा हो हामीले धक्का दिन सक्यौँ भने हाम्रा मान्यताहरू स्थापित हुने र साथसाथै पार्टीपनि अग्रणी शक्तिको रूपमा स्थापित हुने । यो धरातलीय यथार्थ छ,” उनले भने, “अब हामीले आगामी दिनका रणनीतिहरू तय गर्नुपर्ने हुन्छ । विगतका कमी कमजोरीहरूबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । पार्टी एकतालाई अक्षुण राख्दै, प्रतिबद्धता कायम गर्दै हामीले आफुलाई गतिशील तुल्याउनुपर्ने आवश्यकता छ ।”

अध्यक्ष थापाले पार्टीलाई माथि उठाउनको निम्ति चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुको विकल्प नभएको पनि बताए । पार्टी गतिहीन भएको भन्दै यही अवस्थामा निर्वाचनमा भाग लिए पार्टीले हार बेहोर्ने पनि उनले बताए ।