गण्डकीमा भागबण्डा नमिल्दा, मुख्यमन्त्री र मन्त्रीका आकांक्षी काठमाडौंमा

पर्वत । मन्त्रालयको भागबण्डामा सहमति हुन नसकेपछि गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मन्त्री तथा सरकारका प्रवक्ता कुमार खड्का काठमाडौँ गएका छन्।

केन्द्रीय नेताहरूलाई भेटेर मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउन र मन्त्रालयको दाबीबाट पछि नहटेका साना दललाई केन्द्रीय नेताहरूबाट ‘कन्भिन्स’ गरेर मन्त्रिमण्डल विस्तार गर्नका लागि उनीहरू मंगलबार काठमाडौँ गएका हुन्। मुख्यमन्त्री र प्रवक्तासहित अन्य केही सांसदहरू पनि आफूलाई मन्त्री बनाइदिन त कोही कसैको समर्थनको लागि पनि व्यक्तिगत रूपमा काठमाडौं गएका छन्।

मुख्यमन्त्री तथा प्रवक्ताले कांग्रेस सभापति शेरबहादुर देउवा सहित प्रदेशमा गठबन्धन बनाएका माओवादी र जनता समाजवादी पार्टीका केन्द्रीय नेताहरूसँग पनि भेटघाट गर्ने योजनामा रहेको कांग्रेस सांसदले बताए।

‘बैठकका बैठक गर्दा पनि यहाँ कुनै हालतमा कुरा मिलेन। साना दलहरूले पनि धेरै दाबी गरेपछि कसरी कुरा मिल्ने हो र खैरु मुख्यमन्त्रीसहितका नेताहरू काठमाडौं जानुभएको छ।

उहाँहरूले कुरा मिलाएर आउनुहुन्छ भन्ने विश्वास छ’ एकजना सांसदले भने, ‘काठमाडौँमा कांग्रेस सभापति देउवासहित अहिले सहकार्य गरिरहेका अन्य दलका शीर्ष नेताहरूलाई पनि भेटघाट गर्ने योजना छ। सम्भवतः उहाँहरू कुरा मिलाएरै फर्किनुहुनेछ।’

सरकार गठनकै विषयमा कुराकानी गर्दै प्रवक्ता तथा मन्त्री कुमार खड्काले मन्त्रिपरिषद् विस्तारमा साना दलहरूको दाबीका कारण अप्ठ्यारो परेको बताए। मन्त्रालय बाँडफाँडमा निकै कसरत गरिएको भए पनि सबैको ध्यान ‘मेजर मिनिस्ट्री’ मा भएका कारण निष्कर्षमा पुग्न नसकिएको उनको भनाइ छ।