डब्लूएचओ भन्छ-कोरोना विरुद्धको खोप तत्काल पत्ता लाग्दैन

एजेन्सी– विश्वभर फैलिरहेको कोभिड–१९ (कोरोना) विरुद्धको खोप तत्काल पत्ता नलाग्ने डब्लूएचओले जनाएको छ । डब्लूएचओका महानिर्देशक टेडरोज अधानम घ्रिबियससले न्युज ब्रिफिङका क्रममा अहिलेसम्म कुनैपनि कोरोनाको खोप नबनेको र तत्कालै खोप बन्ने सम्भावना नरहेको बताएका हुन् । विश्वभर संक्रमित बढिरहँदा पनि अहिले सम्म कुनै किसिमको कोरोनाको औषधि तथा खोप पत्ता नलागेको टेडरोजले दाबी गरेका छन् । ‘हाललाई यस महामारी अन्त्यका लागि जनस्वास्थ्य तथा रोग नियन्त्रणका आधारभूत कुराहरू नै आउँछन्,’ ब्रिफिङका क्रममा बोल्दै उनले भने ‘आइसोलेशन तथा उपचार, ट्रेसिङ एवम् संक्रमित तथा आंशकित व्यक्तिहरु र उनीहरुको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राख्नुु नै हो ।’ महानिर्देशक टेडरोजले संसारभर सामाजिक दूरी कायम राख्दै साबुनपानीले मिचिमिची हात धुन तथा मास्कको अनिवार्य रुपमा प्रयोग गर्न समेत आग्रह गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कारण हालसम्म १ करोड ८२ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ६ लाख ९७ हजारभन्दा बढी संक्रमित ज्यान गुमाइसकेका छन् ।