सल्यानमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

सल्यान – सल्यानमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका र दार्मा गाउँपालिकामा भएका घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

माछा मार्न शारदा नदिमा गएका कालिमाटी गाउँपालिका वडा नम्बर ४ भुरचौरका ९ वर्षीय निर्मल भण्डारीको सोमबार शव फेला परेको छ । उनको शव सोही गाउँपालिका वडा नम्बर ५ पैठक स्थित शारदा नदि किनारमा फेला परेको प्रहरीले जनाएकाे छ।

साउन १६ गते माछा मार्न शारदा नदिमा गएका एक बालकको शव सोमवार भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, ढकेन्द्र खतिवडाले जानकारी दिए ।

यस्तै दार्मा गाउपालिका वडा नम्बर ४ पुकातका ५५ वर्षीय यज्ञ बहादुर बि.क.को भिरबाट लडेर मृत्यु भएको छ । आइतवार साँझ घर देखी ५ सय मिटर टाढा भिरबाट लडेर उनको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।