जुम्लामै पहिलो पटक घाँटीको मेरुडण्डको जटिल शल्यक्रिया सफल

सुर्खेत – पछिल्लो समय कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लाले एकपछि अर्को सफलता प्राप्त गर्दै गएको छ । सबै खालका जटिल शल्यक्रिया सफल गरेर बिरामीको विश्वास जित्दै गएको प्रतिष्ठानले पहिलो पटक जुम्लामै घाँटीको मेरुडण्डको जटिल शल्यक्रिया समेत सफल गरेको छ ।

कोरोना माहामारीमा उत्कृष्ठ काम तथा सेवा प्रवाह गर्दै गएको प्रतिष्ठानले स्थानीय एक युवकको घाँटीको मेरुडण्डको जटिल शल्यक्रिया सफल गरेको हो । जुम्ला तिला गाउँपालिका ७ का २० बर्षका लोकबहादुर रोकाया कामको शिलशिलामा २ तला घरको भ¥याङ्गबाट खस्दा घाँटीमा गम्भिर चोट लागेको थियो ।

गम्भिर चोटपछि सिकिस्त बिरामी बनेका लोकबहादुरलाई उपचारका लागि प्रतिष्ठानमा लिइएपछि प्रतिष्ठानको हाडजोर्नी तथा नशा रोग बिभागले आवश्यक तयारी गरी जटिल शल्यक्रिया शुरु गरेको थियो । पहिलो पटक प्रतिष्ठानका डाक्टरबाट यस्तो जटिल शल्यक्रिया सफल भएपछि बिरामी लोकबहादुरको परिवार तथा कर्णालीवासीमा खुसी छाएको छ ।

उक्त शल्यक्रिया प्रतिष्ठानका सहप्राध्यापक तथा हाडजोर्नी बिभाग प्रमुख डा. पुजनकुमार रोकायाको नेतृत्वमा डा. तुलाकृष्ण गुप्ता, डा. रमेश भट्राई, डा. अर्जुन प्रसाद तिवारी, डा. निराजन महासेठ लयायतका टिमले गरेको हो ।

यसअघि कर्णालीवासी घाँटीको मेरुडण्डको जटिल शल्यक्रियाका लागि लाखौं खर्च गरेर काठमाडौं तथा भारतसम्म धाउदै आएका थिए । अब प्रतिष्ठानमै शल्यक्रिया हुने भएपछि बिरामीको आर्थिक भार समेत घट्ने भएको छ ।

डा. पुजनकुमार रोकाया भने ‘कोरोना महामारीकाबिच चुनौतिका साथ शल्यक्रिया सम्पन्न भयो । यस्तो जटिल खालको शल्यक्रिया गर्दा सहयोग गर्ने ओ.टि बिभागको सम्पूर्ण टिम, एनेस्थेसिया तथा आई.सि.यू बिभागको सम्पूर्ण टिम, रेडियोलोजि बिभागको टिम तथा हाडजोर्नी बिभागका सम्पूर्ण टिमलाई धन्यवाद ब्यक्त गर्दछुँ ।’

उनका अनुसार यदी बिरामीहरुको हड्डी भाचिएपछि समयमा अप्रेशन नगर्दा निकट भबिष्यमा हात खुट्टा बाङ्गो भई काम गर्न गाह्रो हुने तथा अपांग हुने हुँदा कोरोना महामारीकाबिच प्रतिष्ठानको हाडजोर्नी बिभागले शल्यक्रिया सूचारु गरेको थियो ।

कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञाकाबिच गएको बैशाख २२ गतेपछि प्रष्ठिानमा ३८ जना बिरामीको हाडजोर्नीको सफल शल्यक्रिया गरिएको छ । जसमध्ये ११ जना कालिकोट र २७ जना जुम्लाका बिरामी हुन् ।