जुम्ला–मौसमी प्रभावले समयमा हेलिकप्टर आउन नसक्दा हुम्लामा एक जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । चंखेली गाउँपालिका–३ मेखला गाउँका ५२ वर्षीय हइत रोकायाको मंगलबार थप उपचारका लागि हेलिकप्टर कुर्दाकुर्दै मृत्यु भएको हो ।
कोभिड–१९ संक्रमित भएर तीन दिनदेखि इलाका स्वास्थ्य कार्यालय मिमिमा उपचार गराइरहेका रोकायाको अक्सिजन लेभल ६० मा झरी श्वास फेर्न गाह्रो भएको थियो । त्यसपछि उनको तत्काल उद्धारको लागि जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको पहलमा हेलिकप्टरको बन्दोबस्त गरिएको भएपनि लगातार वर्षातले काठमाडौंबाट हेलिकप्टर आउन नसक्दा रोकायाको निधनको भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए ।
कोभिड–१९ संक्रमणको कारण हिमाली जिल्ला हुम्लामा रोकायासहित दुई जनाको मृत्यु भएको छ । यसअघि कोभिड–१९ संक्रमित सर्केगाड गाउँपालिका– २ को रिप गाउँका ५५ वर्षीय टोप्ले कामीको थप उपचारका लागि जिल्ला अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।
हुम्लाका स्थानीय तहमा अक्सिजन अभाव हुँदा स्वास्थ्य चौकीमा अक्सिजन दिने अवस्था नभएका कारण २ जनाको ज्यान गएको छ । मौसम खराब नभएर समयमै हेलिकप्टर आउन सकेको भए रोकायालाई बचाउन सकिने प्रमुख सिंहले बताए ।