पाँचौँपटक युरो कप खेल्दै रोनाल्डो, चारवटा रेकर्ड थप्ने मौका

काठमाडौं – पोर्चुगिज युभेन्टस् स्टार क्रिस्टियानो रोनाल्डो युरो कप अन्तर्गतको खेलमा आज मैदान उत्रँदै छन्। उनले क्लब फूटबल र देशका लागि खेल्दा एकपछि अर्को रेकर्ड आफ्नो नाममा पार्दैछन्।

जारी युरोपियन च्याम्पियनसिपमा रोनाल्डो पुनस् एकपटक धेरै रेकर्डहरू आफ्नो नाममा पार्नका लागि मैदान उत्रने पक्का छ।

रोनाल्डो मंगलबार हंगेरीविरुद्ध मैदान उत्रँदै गर्दा सर्वाधिक धेरै ५ पटक युरो खेल्ने खेलाडी बन्नेछन्। यसअघि १७ खेलाडीले चारपटक युरो खेलेका छन्। २०१६ मा भने ११ खेलाडीले चौंथो पटक प्रतियोगिता खेलेका थिए।

२००४ युरो कपमा डेब्यू गरेयता उनले ४ युरो कपमा २१ खेलमा ९ गोल गरेका छन्। उनी फ्रान्सका पूर्व फूटबलर माइकल प्लाटीनीले ९ गोलको कीर्तिमान जारी प्रतियोगितामा एक गोल गर्न सफल भए तोड्न सक्षम हुने छन्।

रोनाल्डो यो प्रतियोगितामा ६ गोल गर्न सफल भएमा उनी सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्नै खेलाडी बन्ने छन्। अहिलेसम्म कुल १०४ अन्तराष्ट्रिय गोल गरेका रोनाल्डोले जारी प्रतियोगितामा ६ गोल गर्नसके इरानका पूर्व फूटबलर अली डेइको १०९ गोलको कीर्तिमान तोड्ने छन्।

यदि रोनाल्डोको पोर्चुगलका उपाधि जितेमा उनले स्पेनका कप्तान इकर कासिलासको लगातार २ पटक उपाधि जितेको रेकर्ड बराबरी गर्नेछन्। कासिलासले सन्‌ २००८ र २०१२ मा उपाधि जित्दै रेकर्ड बनाएका थिए।