ब्राजिल : राष्ट्रपति बोलसोनारोमाथि साओ पाउलो राज्य सरकारले लगायो जरिवाना

काठमाडौं – ब्राजिलको साओ पाउलो राज्यको सरकारले देशका राष्ट्रपति जायर बोलसोनारोमाथि कोभिड–१९ को नियमको उल्लंघन गरेको भन्दै ५५२ ब्राजिलियन रियाल (करिब साढे १२ हजार रुपैयाँ) को जरिवाना लगाएको छ ।

शनिबार साओ पाउलोमा मोटरसाइकल र्‍यालीमा उपस्थिति जनाउन पुगेका बोलसोनारोले मास्क लगाएका थिइनन् र उनी र्‍यालीमा मानिसहरुलाई भेट्ने, बोल्ने गरिरहेका थिए ।

र्‍र्यालीका बेला बोलसोनारोले खोप लगाइसकेको मानिसहरुका लागि मास्क लगाउनुपर्ने नियम हटाउनेबारे विचार गरिरहेको बताए । उनले भने, ‘जसले पनि यसको विरोध गर्छन्, उनीहरु विज्ञानमा विश्वास गर्दैनन् । जसले कोरोना भ्याक्सिन लगाएका छन् ती व्यक्तिबाट अन्य व्यक्तिमा कोरोना संक्रमण फैलन सक्दैनँ ।’

यद्यपि, वैज्ञानिक समुदायले भ्याक्सिन लगाएका व्यक्तिमार्फत् संक्रमण फैलिँदैन भन्ने कुरालाई अहिलेसम्म समर्थन गरेका छैनन् ।

स्थानीय सरकारले बोलसोनारोसमेत पूर्वाधार मन्त्री तार्चिजियो गोम्स र एक नेताका छोरामाथि मास्क नलगाएको र सामाजिक दुरीको नियमको पालना नगरेको भन्दै जरिवाना लगाएको छ ।

यो विषयमा अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कुनै जवाफ पाइएको छैन ।

यद्यपि, बोलसोनारो पहिला पनि थुप्रै पटक कोरोनाका कारण लगाइएको प्रतिबन्ध र मास्क लगाएको विरोध गरेका कारण चर्चामा छन् ।

साओ पाउलोमा आयोजित ‘एसलरेट फर क्राइस्ट’ मोटर साइकिल र्‍यालीको नेतृत्व राष्ट्रपति बोलसोनारो गरिरहेका थिए । यतिबेला उनले मास्क लगाएका थिएनन् र यस्तो हेलमेट लगाएका थिए जसमा उनको अनुहार ढाकिएको थिएन ।

बोलसोनारो ब्राजिलमा अर्को वर्ष राष्ट्रपति चुनावमा एकपटक पुनः आफ्नो भाग्यको परीक्षण गर्न चाहन्छन् त्यसैले उनी देशमा आयोजित भिन्न भिन्न स्थानमा यसै प्रकारको र्‍यालीमा उपस्थिति जनाइरहेका छन् ।

साओ पाउलोमा भएको र्‍याली अघि यहाँका गभर्नर जोआडो डोरियाले यदि राष्ट्रपतिले राज्यमा लागू कोभिडसँग जोडिएको नियमको पालना नगरेको खण्डमा उनीविरुद्ध कारवाही गरिने बताएका थिए।

राष्ट्रपति पदको दौडमा डोरिया, बोलसोनारोका प्रतिद्वन्द्वी हुन् ।

कोभिड–१९ सँग सम्बन्धित नियमको विषयमा बोलसोनारो, जोआओ डोरियासमेत थुप्रै राज्यका गभर्नरसँग पहिला पनि बहस गरिसकेको बताइन्छ ।

जोन होप्किन्सको कोरोना ड्यासबोर्डका अनुसार ब्राजिलमा हालसम्म कोरोनाका कारण ४ लाख ८६ हजार, २७२ को मृत्यु भइसकेको छ ।

कोरोनाको मृत्युदर अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै छ । अमेरिकामा हालसम्म कोरोनका कारण ५ लाख ९९ हजार ६६४ ले ज्यान गुमाइसकेका छन् ।

बीबीसी