कर्णाली प्रदेशको नीति तथा कार्यक्रम माहामारी रोकथाममा केन्द्रित


सुर्खेत – कोरोना माहामारीलाई केन्द्रित गरी कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रम ल्याइएको छ । शनिबार बसेको प्रदेश सभा बैठकमा सभामुख राजबहादुर शाहीको आग्रहमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सदनमा प्रदेश प्रमुख कलौनीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कोभिड माहामारी रोकथाममा केन्द्रित छ । नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा र उत्पादनमुक स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिएको हो ।

नीति तथा कार्यक्रममा स्वास्थ्य सेवालाई सर्वसुलभ तथा गुणस्तरीय बनाउँदै सबै जिल्लामा अक्सिजन प्लान्टसहितको सरुवा रोग अस्पताल निर्माण तथा सञ्चालन गर्ने र प्रदेश अस्पताललाई विशेषज्ञ शिक्षण अस्पतालको रूपमा विकास गर्ने उल्लेख छ । साथै सबै जिल्ला अस्पतालबाट विशेषज्ञ सेवा प्रवाह गर्न आवश्यक व्यवस्था मिलाइने भएको छ ।

स्थानीय ज्ञान, सीप, श्रोत, साधन तथा परम्परागत एवम् आधुनिक प्रविधि उपयोग गर्दै उत्पादन एवम् उद्यमशीलतालाई प्रवर्द्धन गरी युवाहरूलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने नीति लिइएको प्रदेश सरकारले जनाएको छ ।

गत वर्षकै अधिकांश कार्यक्रमलाई निरन्तरता दिनेगरी ल्याइएको नीति तथा कार्यक्रममा कृर्षि, खानेपानी, सिचाँइ तथा अन्य पूर्वाधार निर्माणका नयाँ कार्यक्रम पनि उल्लेख छन् । प्रदेश सरकारले आगामी असार १ गते बजेट ल्याउने भएको छ ।

Niti-Karyakram-For-Web