सभामुख शाहीको निर्वाचन क्षेत्रमा विद्युतिकरणका लागि चालीस करोड, यसै वर्ष भित्रै विजुली बल्ने

सुर्खेत – कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको निर्वाचन क्षेत्रमा एक वर्ष भित्रै विजुली बल्ने भएको छ । दैलेखको पश्चिमी क्षेत्रमा पर्ने आठबीस नगरपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका र ठाँटीकाँध गाउँपालिकामा विजुली बाल्नका लागि प्रदेशबाट ४० करोड विनियोजन भइ कार्यान्वयनको चरणमा रहेको छ ।खानेपानी संचाई तथा उर्जा विकास कार्यालय दैलेखका कार्यालय प्रमुख अशोक गौतामका अनुसार तीन वटै पालिकामा विधुतिकरणको कार्य पहिलो प्राथमिकतामा रहेको बताए ।

‘आर्थिक वर्ष ०७५र०७६ मा पाँच करोड मुल्यका विजुलीका पोलहरु आइसकेका छन् । यो वर्ष दश करोड बराबरको करिब ६७ किलोमिटर लम्बाईको ११ केभिए प्रसारणलाईनका लागि ठेकेदार कम्पनीसँग हामी सम्झौता गर्दैछौं । उहाँहरुले तत्काल काम सुरु गर्ने अपेक्षा हाम्रो छ भने बाँकी कामका लागि २५ करोड बजेट सुनिश्चित भएको छ । उक्त बजेटले चार सय भोल्टको लाईन तान्ने, ट्रान्सफर्मर राख्ने, मिटर जडान गर्ने लगायतका सबैकाम गर्नकालागि भदौसम्ममा ठेक्का आव्हान गर्दैछौं । त्यसकालागि विस्तृत परियोजना पालिकामार्फत निर्माण भइसकेको छ । त्यसैलाई आधार बनाई हामी अघि बढिरहेका छौं ।’

उनले यहि वर्षमा तीनै वटा पालिकामा विजुली बालिने बताए । ‘हामीले ११ केभिएको लाईन विस्तार यहि वर्ष गर्छौं । पालिकाले चाहेको खण्डमा उक्त लाईन विस्तार भएपछि विजुली बाल्न कुनैपनि समस्या हुँदैन । पालिकाले सहयोग नगरेको खण्डमा कार्यालयका तर्फबाट भन्ने हो भने ढिलोमा दुइ वर्ष भित्र हरेक नागरिकको घरमा विजुली बल्छ । यसमा कुनै शंका छैन ।’ उनी भन्छन्,, ‘सभामुख ज्यूले बारम्बार हामीलाई निर्देशन दिइरहनु भएको छ । उहाँको निर्देशन पछि यो कामलाई जतिसक्दो छिटो टुंग्याउने गरी कार्यालय अगाडी बढछ । यहि वर्षको अन्त्यतिर तपाईले विजुली बलेको हेर्न पाउनु हुने गरी हामी काममा तीव्रता दिइरहेका छौं ।’

नेपाल विद्युत प्राधिकरणले ३३ केभिएप्रसारण लाईनमार्फत कालिकोटमा विजुली बलिसकेका कारण अब एघार केभिएको लाईन विस्तार, ४ सय भोल्टको लाईन विस्तार र तीन वटा स्थानमा तत्कालकालागि ट्रान्सफर्मर राख्ने तयारी अघि बढेको छ ।

‘मैले जनतालाई निर्वाचनताका प्रतिबद्धता गरेबमोजिम हरेक घरमा विजुली पुर्‍याउने अभियान करिब सफलता उन्मुख भएको छ ।’ सभामुख राजबहादुर शाहीले भने, ‘केहि दिनमै प्रदेश विद्युत प्राधिकरणले ठाँटीकाँध बजार, चामुण्डाविन्द्रासैनीको जम्बुकाँध बजार र आठबीसको राकम कर्णाली मा ट्रान्सफर्मर राख्दैछ । पालिका सदरमुकाममा केहि समयमै विजुली बल्नेछ भने निर्वाचन क्षेत्र भरि दुइ वर्ष भित्र विजुली बल्नेछ ।’ विजुली बलेको खण्डमा आफ्नो निर्वाचन क्षेत्रमा युवाहरु स्वरोजगार बन्न सक्ने उनको भनाई छ ।