काठमाडौं – निवर्तमान वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले आफू नागरिकको सेवामा सदैब कटिबद्ध रहने बताउनुभएको छ । मन्त्रालयलले आज सिंहदरबारमा गरेको बिदाइ कार्यक्रममा उहाँले आफू मन्त्री नरहँदा पनि नागरिक र देशको सेवामा सधैँ लागिरहने बताउनुभएको हो ।
आफ्नो पाँच महिने कार्यकालमा मन्त्रालयमा रहेर विभिन्न विकासका काम भएको स्मरण गर्दै उहाँले नागरिकलाई प्रत्यक्ष प्रभाव पर्ने काम तत्काल गर्न समेत कर्मचारीलाई आग्रह गर्नुभयो ।
पछिल्लो समय विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारसँगै कर्मचारी पनि लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा आलेले आफूलाई विश्वास गरेर जनताको सेवा गर्ने मौका दिएकामा नेकपा एमाले का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा मन्त्रालयका सचिव डा . प्रेमनारायण कडेँललगायतका कर्मचारीले निवर्तमान मन्त्री आलेसँग काम गर्दा निकै सौहार्दपूर्ण भएको बताउनुभयो ।