‘रन्थनिएका’ यादव

जनकपुर आएका यादव कांग्रेस–माओवादीका मन्त्रीलाई शपथ खुवाएर मात्रै काठमाडौं फर्किने मनस्थितिमा

जनकपुर – दलकै महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई सरकारमा जानबाट रोक्न अनेक उपाय गरे पनि मन्त्रीको शपथ तयारीबारे थाहा पाएपछि शुक्रबार दिउँसो जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव रन्थनिँदै जनकपुर हिँडे ।

जनकपुर हान्निनुअघि उनले कांग्रेस उपसभापति विमलेन्द्र निधिसित काठमाडौंमै छोटो भेटघाट गरे । विषय थियो– प्रदेश २ सरकारमा कांग्रेसको सहभागिता ।

बनेपा–सिन्धुलीको बाटो हुँदै शुक्रबार अपराह्न यादव जनकपुर पुगेको केही घण्टामा ठाकुर–महतो समूह ओली सरकारका सारथि बने । ओलीको पछिल्लो राजनीतिक कदमको चर्को विरोध गरिरहेका यादव आफ्नै दलका सांसदलाई सत्तामा सहभागी गराएको घटनाले झन् चिढिए । ‘बदला’ कै मुडमा जनकपुर पुगेका यादव ६ घण्टा लामो नागबेली बाटोको थकाइ नमार्दै राजनीतिक परामर्शमा व्यस्त बने ।

जनकपुरको वेलकम होटलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग सुरु भएको राजनीतिक परामर्श अबेर रातिसम्म चल्यो । यादव र राउत प्रदेश २ सरकारलाई पुनर्गठन गर्नुअघि ठाकुर–महतो पक्षका मन्त्रीलाई जतिसक्दो छिटो फालिहाल्ने मनस्थितिमा पुगे तर त्यो निर्णयमा पुग्नु ‘आफ्नै खुट्टामा बञ्चरो हान्नु’ जत्तिकै जोखिम थियो । प्रदेश २ सरकारबाट ठाकुर–महतो समूहलाई अलग्याएलगत्तै राउत सरकार अल्पमतमा पर्थ्यो । जोखिम टार्न यादव–राउतले कांग्रेस–माओवादी केन्द्रको साथ खोजेका थिए ।

काठमाडौंको बैठकमा कांग्रेस नेता निधिले ‘मुख्यमन्त्री’ नै मागेपछि हच्किएका यादवले भने कांग्रेस फकाउन नयाँ प्रस्ताव ल्याए । प्रदेश १, प्रदेश २ र लुम्बिनी यी तीनबटै प्रदेशमा प्याकेजमै सहमति गर्ने यादवको प्रस्ताव कांग्रेसलाई सुनाइयो । ‘प्रदेश १ र लुम्बिनी प्रदेशमा कांग्रेसको मुख्यमन्त्री बनाउन जसपाले समर्थन गर्ने र प्रदेश २ मा राउत नेतृत्वकै सरकारमा कांग्रेस सहभागी हुने प्रस्ताव यादवले राखे,’ शुक्रबार रातिको बैठकमा सहभागी कांग्रेसका एक प्रदेश सांसदले कान्तिपुरसँग भने, ‘हामीले यो कुरा दलका शीर्ष तहमा राख्यौं । वार्ता र छलफल जारी राख्ने भनियो ।’

कांग्रेस र माओवादीसित शनिबार दिनभर र आइतबार बिहान भएको छुट्टाछुट्टै वार्तामा दुवै दलको ‘ग्रिन सिग्नल’ पाएपछि अध्यक्ष यादवकै सक्रियता र उपस्थितिमा आइतबार अपराह्न मुख्यमन्त्री राउतलाई संसदीय दलका नेता छानियो । जसपाको यादव गुटमै संसदीय दलका नेतामा आर्थिक मामिलामन्त्री विजय यादव र सांसद अशोक यादवलगायतको दाबी रहे पनि ती सबै विवाद पन्छाउँदै राउतलाई दलको नेता बनाइयो । राउत दलको नेता छानिएलगत्तै कुनै बेला उपेन्द्र यादवका स्वकीय सचिव रहेका प्रदेश २ का राज्यमन्त्री योगेन्द्र राय यादवले सामाजिक सञ्जालमा आइतबार साँझ लेखे, ‘जसपा संसदीय दलका नेता राउतले अब कडा एक्सनका साथ सरकार सञ्चालन गर्नेछन् ।’

नभन्दै, आइतबार राति मुख्यमन्त्री राउतले ठाकुर–महतो समूहका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलसहित तीन राज्यमन्त्रीलाई पदमुक्त गरिदिए । जसलाई ठाकुर–महतो समूहका पदमुक्त मन्त्रीहरूले ‘मध्यरातमा राउतको सरप्राइज’ झनेका छन् ।

मुख्यमन्त्रीनिकट स्रोतका अनुसार मन्त्रालय टुत्र्याएर भए पनि कांग्रेस र माओवादीलाई ‘आज–भोलि’ नै प्रदेश सरकारमा सहभागी गराइनेछ । ‘कांग्रेस–माओवादी सरकारमा आउन तयार छन्,’ स्रोतले भन्यो, ‘मन्त्रालयको टुंगो लाग्न मात्र बाँकी छ ।’ जसपाका अध्यक्ष यादव भने कांग्रेस–माओवादीको शपथ ग्रहण गराएर मात्र काठमाडौं फर्किने मनस्थितिमा छन् । त्यसका लागि पनि कांग्रेस–माओवादीलाई यादव पक्षले हतारो लगाइरहेका छन् ।

जसपा एकीकरण हुनुअघिदेखि नै प्रदेश २ मा पूर्वसमाजवादी र पूर्वराजपाको गठबन्धनको सरकार थियो । पदमुक्त गरिएका मन्त्री जितेन्द्र सोनल राउत सरकारमा मर्यादाक्रमका दोस्रो वरिष्ठ मन्त्री थिए । गत वर्ष दुवै दल एकीकरण भए पनि प्रदेश २ मा यी दुवै दल छुट्टाछुट्टै अस्तित्वमा थिए । दलका नेतामा राउत र सोनल कायमै थिए । दल एकीकरण भएको एक वर्षको यो बीचमा एकीकृत दलको नेता छान्न दबाब बढे पनि यादव–राउतकै अनिच्छामा त्यो मामिला टार्दै लगियो ।

प्रदेश २ मा हाल १ सय ४ जना सांसद छन् । १ सय ७ सांसद रहेका प्रदेश २ मा माओवादी केन्द्रले ३ जना सांसदलाई निष्कासन गरेपछि संख्या १ सय ४ मा झरेको हो । प्रदेशमा अहिले सबैभन्दा ठूलो दल जसपा नै हो । जसपाको दुवै समूहका ५५ सांसद छन् । ५३ जना सांसद हुँदा बहुमतको सरकार बन्छ । जसपा ‘टुक्रिँदा’ यादव–राउतसँग ३५ सांसद छन् । ठाकुर–महतोका ५ जना सांसद यादव–राउततिर लागेका छन् । त्यसो हुँदा ठाकुर–महतोसँग २० जना मात्र सांसद छन् ।

सोमबार ठाकुर–महतो पक्षको संसदीय दल बैठकमा १५ जना मात्र सांसद उपस्थित थिए । प्रदेशमा नेकपा एमालेसँग २१ जना सांसद छन् । तर एमालेभित्र ओली र खनाल–नेपाल दुई खेमामा विभाजित छन् । प्रदेश २ मा तेस्रो ठूलो दल कांग्रेस हो । कांग्रेससित १९ जना सांसद छन् । माओवादीसँग ८ जना सांसद छन् । रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् । प्रदेश २ को यही गणितको आधारमा जसपाको यादव–राउतको ३५ सांसद, कांग्रेसको १९ र माओवादीको ८ सांसद जोड्दा ६२ सांसद पुग्छ ।

 

#ekantipur