कर्णालीका सामाजिक विकास मन्त्री बुढाको पहिलो निर्णय : कोरोना खोपका लागि एक करोड ६० लाख बजेट विनियोजन

सुर्खेत – कर्णाली प्रदेशमा नियुक्त भएका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले (आइतबार) पदभार ग्रहण गरेका छन् । कोरोना भाइरसको महामारीको समयमा मन्त्री बुढाक्षेत्री​ले पदभार ग्रहण गरेसँगै पहिलो महत्वपूर्ण निर्णयका रुपमा कर्णालीका सबै जिल्लामा खोप उपलब्ध गराउन बजेट विनियोजन गरेका छन् ।

कोरोना खोप लगाउने जनसंख्याका आधारमा कर्णालीका सबै जिल्लामा बजेट विनियोजन गरिएको मन्त्री बुढा क्षेत्रीले जानकारी दिए । उनका अनुसार रुकुम पश्चिममा १६ लाख ३९ हजार, सल्यानमा १७ लाख ४३ हजार १२५, सुर्खेतमा २६ लाख २७ हजार ६२५, दैलेखमा १९ लाख ५२ हजार ५००, जाजरकोटमा १६ लाख ९६ हजार ८०० र डोल्पामा १४ लाख ३५ हजार ५०० रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, जुम्लाका लागि १२ लाख ८६ हजार, कालिकोटका लागि १६ लाख ३६ हजार ५००, मुगुका लागि ९ लाख ७३ हजार १९० र हुम्लाको लागि १० लाख ५३ हजार १९० रुपैयाँ विनियोजन गरिएको मन्त्री बुढाक्षेत्रीले जानकारी दिए ।

कोरोना खोपका लागि आवश्यक पर्ने ढुवानी खर्च, स्वास्थ्यकर्मीलाई खोपसम्बन्धी तालिम, प्रोत्साहन भत्ता लगायतको खर्च व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको उनको भनाई छ ।