मृगौला प्रत्यारोपणका लागि सहयोग माग्दै अछामका पत्रकार

काठमाडौं – अछामका ध्रुव बीसी पेसाले पत्रकार हुन् । तर, उनले कलम नसमाएको ठ्याक्कै एक वर्ष भयो । हिमालय टेलिभिजन, नयाँ पत्रिका दैनिकका सम्वाददाता एवं अछामको रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक रहेका बीसी उच्च रक्तचापका कारण दुबै मृगौला फेल भएर हाल भक्तपुरको घर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र अनि निदान हस्पिटल पुल्चोकमा हप्ताको २ पटक डायलासिस गरेर बाँचिरहेका छन् ।

छाउपडीका कथा, दुरदराजका समस्या एवं वास्तविकताको आवाज बोल्ने एउटा सक्रिय पत्रकार आज यसै ढलिरहेछ । ‘उनी भन्छन्, कयौँ वैकल्पिक उपचार पद्दति अपनाउँदा एक वर्ष बित्यो । तर, मेरो स्वास्थ्य झनझन बिग्रँदै गइरहेको छ । अहिलेसम्म उपचार लगायत सबै खर्च गरेर करिब १८ लाख सकियो । तर, अन्तिममा तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने भयो ।’

तत्काल मृगौला प्रत्यारोपण नगरे डाक्टरले ज्यान नै जोखिममा हुने उनलाई बताएका छन् । नयाँ मृगौला फेर्नका लागि निकै ठूलो रकम आवश्यक पर्ने हुँदा अहिले उनी आर्थिक सहयोगका लागि आग्रह गरिरहेका छन् । पत्रकार बीसी भन्छन् ‘जीवनको अन्तिम घडीमा एकपटक यहाँहरुको सहयोगको आशा गरेको छु, मलाई बचाउनुहोस् ।’