एकताका लागि दुई-चार दिन प्रयास गरौं : घनश्याम भुसाल र सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरू पार्टी एकताका लागि अब समय तोकेरै अगाडि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन्।

पार्टी एकताकै लागि भनेर अब धेरै समय कुर्न नहुने धारणा राखेका उनीहरूले समय तोकेर यसबारे गम्भीर रूपमा छलफल गरिनुपर्ने सुझाए।

एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता खनाल-नेपाल पक्षबीच विवाद छ। खनाल र नेपाल पक्षले पार्टी संगठन संरचना २०७५ जेठ २ अगाडिकै अवस्थामा अगाडि बढ्नुपर्ने अडान राखे पनि अध्यक्ष ओली यसमा सहमत देखिएका छैनन्।

यस्तो अवस्थामा खनाल-नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक बिहीबार भर्चुअल रूपमा बसेको थियो। उक्त बैठकमा बोलेका अधिकांश केन्द्रीय सदस्यले अध्यक्ष ओलीले अलमल्याउने काम मात्रै गर्ने भएकाले एउटा निश्चित समय तोकेर निर्णय लिनुपर्ने बताएका थिए।

पार्टी एकताका लागि आफूहरू तयार नै भए पनि यसका लागि समय तोकेर जानुपर्ने धारणा आएको छलफलमा सहभागी केन्द्रीय सदस्य रचना खड्काले बताइन्।

‘हामीले कहिलेसम्म ओलीको भर गर्ने हो, यसको समय तोक्नुपर्छ। हामीले प्रयास नगर्नुस् भन्दैनौं तर यो अनन्तसम्म नजाओस्,’ बैठकमा केन्द्रीय सदस्यले राखेका भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘अध्यक्ष ओली एकताको पक्षमा देखिनुभएन। तर पनि हाम्रो तर्फबाट प्रयास भने जारी राखौं।’

पछिल्लो समय स्थायी कमिटी बैठक राखेर अध्यक्ष ओलीले खनाल-नेपालसहित ११ जनालाई पार्टीबाट निकालेका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्न हस्ताक्षर गरेकोले पार्टीबाट निस्कासन गरिएको उनीहरूको भनाइ थियो।

पार्टीका नेताहरूलाई निकालेपछि पनि दुई पक्षबीच वार्ता भने भइरहेका छन्। पछिल्लो पटक वार्तामा सहभागी रहेका सुरेन्द्र पाण्डे र घनश्याम भुसालले आफूहरू इमान्दार रूपमा पार्टी एकताकै प्रयासमा लागेको ब्रिफिङ गरेका थिए।

‘दुईचार दिन हेरौं, अध्यक्ष ओली कति इमान्दार छन् भन्ने पनि थाहा हुन्छ। कति बचनमा अडिन्छन् र एकताप्रति कति प्रतिवद्ध छन् पनि थाहा हुन्छ। पार्टीको चिन्ता त ओलीले कति गर्छन् भन्ने सबैलाई थाहा नै छ१,’ पाण्डे र भुसालका भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘त्यहाँभित्र संघर्ष गरौंला। हाम्रो इमान्दार प्रयास पार्टी एकताकै पक्षमा छ। तर उनीहरू के गर्छन् त्यो पनि हेरौं।’

केन्द्रीय सदस्य निरज आचार्यका अनुसार अधिकांश केन्द्रीय सदस्यको कुरा जेठ २ मा फर्किनुपर्ने भन्ने थियो।

‘जेठ २ त्यसमा आउन ओली तयार हुन् भने त्यसको व्यवहारिक कार्यान्वयन हुनपर्छ। तर वार्ता भनेर अनन्तकालसम्म बस्न हुँदैन,’ केन्द्रीय सदस्यहरूको भनाइ उद्धृत गर्दै उनले भने, ‘यदी ओली आउन मानेनन् भने पार्टी पुनर्गठन गर्नुपर्छ। तर कति दिन कुर्ने हो भन्ने समय तोक्नुपर्छ। तीन दिन, ५ दिन कति दिन कुर्ने, त्यो त प्रष्ट हुनुपर्‍यो।?

कतिपय केन्द्रीय सदस्यले भने जेठ २ मा पार्टी संरचना अगाडि बढाउन ओली तयार नहुने बताएका थिए।

साथै बैठकमा वरिष्ठ नेता झलनाथ खनालले अब युवाहरूले पार्टी पुनर्गठन गर्नुपर्ने बताएका थिए। अध्यक्ष ओली जेठ २ मा नफर्किने हो भने पार्टी पुनर्गठन गर्नुपर्ने खनाल बताउँछन्।

‘जेठ २ मा फर्किने कुरा नराम्रो होइन, तर वार्ता भनेर जालझेलमा अल्मलिनु हुँदैन। एमाले भित्रको एकताका लागि ढोका बन्द गरौं भन्ने त होइन,’ खनालका भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘जेठ २ मा जान तयार हुनु हुन्न भने तपाईंहरूले आँट गर्नुपर्छ।’

ओलीले एमाले पार्टी भद्रगोल र कम्युनिष्टजस्तो पार्टी नबनाएकोले सचेत हुनुपर्ने उनको भनाइ थियो।

नेता नेपालले एकातिर कारवाही र अर्कोतिर वार्ताको प्रयास गरेकोजस्तो गरेर ओलीले दोहोरो भूमिका खेलेको बताए। उनले नेताहरूले अनौपचारिक कुराकानी गरिरहेकोबारे आफू जानकार रहेको बताएका थिए।

आफू पक्षका नेता अध्यक्ष ओली पक्षका नेतासँग कुराकानी गरिरहेकोप्रति उनको यस्तो संकेत थियो।

‘पछिल्लो समयमा अनौपचारिक छलफल भएका छन्। यो मलाई थाहा नदिएर वार्ता नभएको भन्ने होइन। अनौपचारिक रूपमा गरेका कुराकानी मलाई ब्रिफिङ भएको छ,’ उनले भनेका थिए।

आज पनि केन्द्रीय सदस्यहरू छलफलमा जुट्ने एक नेताले जानकारी दिए। अध्यक्ष ओली पक्षले भने बालुवाटारमा बिहीबारका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित गरेको थियो। अब कहिले उक्त बैठक बस्छ टुंगो छैन।

#सेतोपाटि