माइती नेपालको खाना अभियान कोहलपुमा


नेपालगन्ज– माइती नेपालले सञ्चालन गरेको खाना अभियान बाँकेको कोहलपुरमा प्रवेश गरेको छ। नेपालगन्ज उपमहानगरपालिकामा चलिरहेको अभियान सोमबारदेखि कोहलपुर प्रवेश गरेको हो ।
अभियानलाई कोहलपुरका मेयर लुट बहादुर रावतले शुभारम्भ गरेका हुन्।
हवल्दारपुरस्थित माध्यमिक बिद्यालयमा सञ्चालन अभियानको पहिलो दिन मेयर रावतले खाना वितरण गर्दै आर्थिक अवस्था कमजोर भएको परिवारलाई अभियानले राहत पुग्ने बताए ।
उनले महिला तथा बालबालिकाहरुको बेचबिखन कार्य नियन्त्रणमा सक्रिय माइती नेपालको यस अभियानले धेरै व्यक्तिलाई सकारात्मक शन्देश दिने बताए।
पहिलो दिन हवल्दारपुरका दुई सय पाँच जनालाई खाना बितरण गरिएको छ । गत असार १६ गते शुरु भएको अभियानले हालसम्म सात हजार तीन सय बढिलाई खाना बितरण गरिसकेको छ ।
यस क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा न–१२ स्थित बेलासपुर, बिटिएस चोक, नयाँबस्ती, वडा नं–१३ को घसियारनटोल, खटिकनपुर्वा, मसानघाट, बुलबुलिया, वडा नं–१९ को आलानगर, मोहनपुर, वडा न–२० को गायत्रीनगरमा खाना बितरण गरिएको छ ।
यस्तै नेपालगन्ज क्वारेन्टिनमा बस्ने तथा निलसागर बृद्धाश्रममा रहेका व्यक्तिहरुलाई पनि यस अभियानका क्रममा खाना बितरण गरिएको छ ।
कोरोना महामारीको प्रकोपका कारण सबैतिर समस्या भएपनि दैनिक ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका व्यक्तिलाई परिवार पाल्न झनै गाह्रो बनाएको छ ।
बिद्यमान अवस्थालाई केही सहज बनाउन तथा खासगरी महिला र बालबालिकालाई पौष्टिक एक छाक खानाले उनीहरुको दैनिक जीवनयापनलाई थोरै भएपनि सहयोग पुगोस भनेर अभियान शुरु गरिएको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिए ।
स्थानीय तहको सहकार्यमा यूएन वुमनको सहयोगमा सञ्चालित यस अभियानका क्रममा नेपालगन्जकी उपमेयर उमा थापामगर, १२ का वडाअध्यक्ष बुद्धिसागर सुबेदी, १९ का वडा अध्यक्ष प्रशुराम बर्मा लगायत सहभागि भएकाछन् ।
दैनिक रुपमा बिहानको एक छाक खाना बितरण गरिँदै आएको अभियान अन्तर्गत १४ हजारलाई एक छाक खाना खुवाइने बताइएकाे छ ।