संक्रमणको जोखिममा राउटेबस्ती, रोकिएन बाह्य व्यक्तिको भिडभाड

सुर्खेत – ५० घरधुरी रहेको राउटेबस्तीमा हालसम्म कसैलाईपनि कोरोना संक्रमण भएको छैन । तर बस्तीमा बाह्य व्यक्तिको जथाभावी प्रवेश र टिकटक बनाउने भिडभाड नरोकिएपछि राउटेहरु अब सुरक्षित रहन्छन् भन्न सकिदैन ।

यही जेठ २५ गतेसम्म निषेधाज्ञा लागु गरेको स्थानीय प्रशासनले समेत राउटेबस्तीमा टिकटक बनाउने भिडतर्फ ध्यान दिएको छैन । सहरी क्षेत्रमा निषेधाज्ञा पालना गरिएपनि जिल्लाको प्राय ग्रामिण क्षेत्रमा भने भिडभाड रोकिएको छैन । यसको एउटा गतिलो उदाहरण हो । सुर्खेतको गुर्भाकोट नगरपालिकाको बोटेचौर स्थित नदी किनारामा अवस्थित राउटेबस्ती । यहाँ बिहानदेखि रातीसम्म टिकटक बनाउनेहरुको भिड लाग्छ । जतिबेला पनि आफुखुसी बस्तीमै टिकटक बनाउन आउनेको भिडले सिंगो राउटेबस्ती नै असुरक्षित बनेको छ ।

पछिल्लो समय राउटे चेलीहरु सम्झाना र गाजल शाही सामाजिक संजालमा भाइरल बनेपछि राउटेबस्तीमा दिनहुँ टिकटक बनाउन जानेको भिड बढेको हो । बढ्दो भिडभाँडले एकातिर कोरोना संक्रमणको जोखिम बढेको छ । भने अर्कोतिर फिरन्ते जाती राउटे चेलीसँगै आफुहरुसमेत असुरक्षित बनेको स्थानीयको भनाइ छ ।

‘राउटे चेली सामाजिक संजालमा भाइरल बनेपछि रातीराती बस्तीमै केटाहरुको समूह आएर टिकटक बनाउन दवाब दिन्छन्’ स्थानीय एक महिलाले भनिन्, ‘राउटे बस्तीसँगै हाम्रो गाउँ जोडिएको छ । त्यसैले रातीराती टिकटक बनाउन आउने केटाहरुको समूहले राउटे चेलीसँगै हामीहरुलाई पनि नराम्रो गर्छन् कि भन्ने डर लाग्छ ।’

सामाजिक संजालमा भाइरल राउटे चेलीसँग टिकटक बनाएमा आफुपनि छिट्टै भाइरल भइने सोचले सुर्खेतसहित बाह्य जिल्लाका व्यक्तिहरु राउटेबस्तीमा पुग्नेक्रम रोकिएको छैन । मानिसहरु आफुखुसी जतिबेला पनि बस्तीमा प्रवेश गर्ने र टिकटक बनाउन दवाब दिने क्रम नरोकिएपछि असुरक्षित महशुस भएको राउटे मुखिया सुर्यनारायण शाहीले बताए ।

‘टिकटक बनाउने बाहानामा रातीराती मान्छे आउन थालेपछि हामीले स्थानीय जनप्रतिनिधिलाई खबर गरेका छौं’ उनले भने, ‘पहिले भन्दा हाल यो क्रम कम छ । तर अब टिकटक बनाउनका लागि बस्तीमा कसैलाई छिर्न दिदैनौ । यसले हामी राउटेहरुको आन्तरीक सम्बन्धमा समेत असर पार्न थालेको छ ।’

कोरोना माहामारीले सहरदेखि गाउँबस्ती आक्रान्त बनेको बेला राउटेबस्तीमा टिकटक बनाउन आउनेहरु नत सामाजिक दुरीको पालना गर्छन् । नत स्वास्थ्य मापदण्डको नै । राउटेबस्तीको भिडभाडले कोरोना संक्रमणको जोखिम बढाएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताए । ‘हामी राउटे बस्तीमै पुग्दा पनि त्यो भिडभाँड र टिकटक बनाउने क्रम रोकिएको पाएनौं । यसले बाह्य व्यक्तिद्धारा राउटेहरु कोरोना माहामारीको संकटमा पर्ने देखिन्छ’ उनले भने, ‘यस बिषयमा हामीले स्थानीय प्रशासनलाई समेत खबर गरेका छौं । भिडभाँड रोकेर संक्रमणको जोखिम घटाउन जरुरी छ ।’