पूर्व प्रदेश प्रमुख भन्छन् : राष्ट्रपति र प्रधानमन्त्रीले संसदलाई निजी कम्पनीजस्तै बनाए

काठमाडौं – पूर्व प्रदेश प्रमुखहरुले जनताको सार्वभौम थलो प्रतिनिधिसभालाई प्रधानमन्त्री र राष्ट्रपतिले नियोजित रूपमा निजी कम्पनीजस्तै बनाएको बताएका छन् ।

प्रा.डा.गोविन्दबहादुर तुम्वाहाङ, बाबुराम कुँवर र दुर्गाकेशर खनालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आरम्भदेखि नै संविधानको कार्यान्वयन,पालना र संरक्षणमा इमानदारी र संरक्षकत्व नदेखिएको बताए ।

‘राष्ट्रपति र प्रधानमन्त्रीज्यूका एक पटक, दुई पटक हैन बारम्बार र धेरैपटक संविधानको भावना र मर्म विपरितका थुप्रै कार्यहरू विवादित र आलोचित रूपमा रहेका छन्,’ प्रदेश प्रमुखहरुले भनेका छन्, ‘आरम्भदेखि नै संविधानको कार्यान्वयन, पालना र संरक्षणमा इमानदारी र संरक्षकत्व देखिएन ।’

राष्ट्रप्रमुख र सरकार प्रमुखबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई तमासा बनाउन खोजिएको पनि उनीहरूले बताएका छन् ।

‘हुँदाहुँदा सार्वभौमसत्ता सम्पन्न जनताद्वारा निर्वाचित प्रतिनिधि सभालाई आफ्नै प्राइभेट कम्पनी जस्तै महिनै पिच्छे विघटन गर्ने निरंकुशता र सर्वसत्तावाद प्रदर्शित भइरह्यो, सार्वजनिक अपीलमा उल्लेख छ-‘यस्तो अपकार्यले संविधानको जीवन क्षय हुँदै जानेछ ।

सर्वोच्चबाट जनप्रतिनिधिमूलक संस्था र संविधानको रक्षा हुने विश्वास पनि उनीहरुले व्यक्त गरेका छन् ।