शारदा नगरपालिका -८ का ५ दर्जन बढीले काङ्ग्रेस परित्याग गरि नेकपामा प्रवेश

सल्यान- सल्यानमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नेहरुको लर्को लागेको छ । नेपाली काँग्रेस परित्याग गरेर नेकपामा प्रवेश गर्नेको लर्को लागेको हो । आज आइतवार मात्रै शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्कको एउटैँ गाउँका पाँच दर्जन बढी नेपाली काँग्रेसका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

काँग्रेस नेता ढाल बहादुर यरीको नेतृत्वमा उनीहरुले नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले पार्टीमा स्वागत गरेका छन् । मान बहादुर बुढाथोकीको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै बस्नेतले नेकपाको गोलबद्ध घेरामा मिलेर बस्न सबैलाई आग्रह गरे । जनताको पार्टीनै नेकपा भएको बताउदैँ उनले देशलाई समृद्धिको अभियानमा अगाडी बढाउने पार्टी नेकपा भएको बताए।

पार्टी प्रवेश कार्यक्रममा नेकपाका नगर कमिटी अध्यक्ष नविन सिंह भडेँल, जिल्ला कमिटी सदस्य रमेश कुमार गौतम, राम कुमार खड्की, प्रमोद श्रेष्ठ, मनोज सिंह, निम बहादुर नेपाली लगाएतकाले धारणा राखेका थिए। विगत लामो समयसम्म नेपाली काँग्रेसलाई सहयोग गर्दै आएपनि बिकास निर्माण देखी सुशासन कायम गर्ने कार्यमा नेपाली काँग्रेस असफल भएकाले जनताको पार्टी नेकपामा प्रवेश गरेको नवप्रवेशीहरुको भनाई छ ।