वीरेन्द्रनगर -सुर्खेत होराइजन एकेडेमीले आफ्ना शिक्षक, विद्यालय कर्मचारी र विद्यार्थीहरूको कोरोना बिमा गरिदिएको छ । कोभिड–१९ अर्थात् कोरोना भाइरस लागीहाले उपचारकाे सहजताका लागि कोरोना बिमा गरिएको हो ।
महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई बहन गर्न कोरोना बिमा गरिएको होराइजन एकेडेमीका प्रिन्सिपल घनश्याम खड्काले जानकारी दिए ।
विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको उपचारमा सहज हुने अपेक्षा गरिएको छ । ४० जना शिक्षक र विद्यालय कर्मचारीसँगै र कक्षा १० का ३४ जना विद्यार्थीको कोरोना बिमा गरिएको प्रिन्सिपल खड्काले जानकारी दिए । ‘अहिले कक्षा १० का विद्यार्थीको मात्र बिमा गराएका छांै,’ उनले भने, ‘बिस्तारै सबै विद्यार्थीको बिमा गराउँछौं ।’ कोरोना बिमा गर्ने कर्णालीकै पहिलो सुर्खेत होराइजन एकेडेमी नै भएको उनको दाबी छ । सुरक्षाका उपाय अपनाउँदा अपनाउँदै पनि विद्यार्थी तथा कर्मचारीमा कहिँकतै कोरोना संक्रमण भइहाले उपचारमा समस्या हुन नदिन कोरोना बिमा गरिएको सुर्खेत होराइजन एकेडेमीले जनाएको छ ।
यसले शिक्षक शिक्षिका, विद्यालय कर्मचारी र विद्यार्थीको सुरक्षित र आत्मबलका साथ कार्यक्षेत्रमा खटिउन भन्ने उद्देश्यले कर्मचारी तथा विद्यार्थीको कोरोना बिमा गरिदिएको प्रिन्सिपल खड्काले बताए । यसका साथै अन्य विद्यालयलाई समेत सिकाइहोस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ । बिमा गर्दा लाग्ने सबै शुल्क विद्यालयले नै ब्यहोर्ने भएको छ । यसका लागि नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सहकार्य भएको उनले जनाएका छन् ।
एक लाख बराबरको संस्थागत, पारिवारिक कोरोना बिमा गर्दा प्रति सदस्य ६ सय र ५० हजार बराबरको गर्दा तीन सय बिमा शुल्क लाग्ने र त्यहीँ बिमा व्यक्तिगत गर्दा क्रमश एक हजार र पाँच सय लाग्ने बताइएको छ । बिमा अवधिी आउँदो चैत महिनासम्म हुने र बिमा दाबी पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हुनुपर्नेछ । जन्मेको तीन महिनादेखि ९९ वर्षसम्मका व्यक्तिको कोरोना बिमा गरिने नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडको मार्केटिङ म्यानेजर यमुना पौडेलले जानकारी दिइन् । यसरी बिमा गरेका व्यक्ति स्वदेश मै बसेको हुनुपर्ने यदी बिमा गरेर बीचैमा विदेशमा गएको भए बिमा अवधि मै नेपाल फर्किएमा वा विदेशबाटै माग दाबी गरेमा पनि बिमा लागू हुने म्यानेजर पौडेलको भनाइ छ ।