काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध लड्न आवश्यक खोप सहयोगको अपिलसहित पत्र पठाउनुभएको छ ।
उक्त पत्राचारप्रति अमेरिकी सरकारले खोप उपलब्ध गराउन सकारात्मक जवाफ पनि दिएको छ ।
शुक्रबार राष्ट्रपति भण्डारीले पठाउनुभएको सो पत्र अमेरिकी विदेश मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपति बाइडेनसमक्ष पुगेको छ ।
पत्रमा नेपालले कोभिड–१९ महामारीको दोस्रो लहरको सामना गरिरहेको सन्दर्भमा नेपाली नागरिकको जीवन रक्षाका लागि अमेरिकाको सहयोग अर्थपूर्ण रहने राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएको छ ।
त्यसका लागि खोपको उपलब्धता सुनिश्चित गर्नु नेपाल सरकारको प्राथमिकतासँगै पहिलो दायित्व भएकाले खोप खरिद र उपलब्धताका निमित्त सहजीकरण गरिदिन अमेरिकी राष्ट्रपतिसमक्ष राष्ट्रपति भण्डारीले आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो ।
अमेरिकाका लागि नेपालका राजदूत डा। युवराज खतिवडामार्फत अमेरिकी विदेश मन्त्रालयले पठाएको सन्देशमा नेपाललाई खोप उपलब्ध गराउने विषय प्राथमिकतामा राख्ने आश्वासन दिइएको छ ।