‘नगर कोभिड अस्पताल संचालनमा ल्यायौं, अब छिट्टै अक्सिजन प्लान्ट पनि स्थापना गर्छौं’

सुर्खेतका अन्य स्थानीय तहको तुलनामा वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य तथा अन्य भौतिक पूर्वाधारमा अगाडि छ । हाल नगरपालिकाले सबै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा दिइरहेको छ । यसैबीच नगरप्रमुख देवकुमार सुवेदीसँग स्वास्थ्य सेवा तथा जनशक्तिको अवस्था र कोभिड–१९ रोकथाममा भइरहेका प्रयासबारे गरिएको कुराकानीः

वीरेन्द्रनगर नगरपालिकामा रहेका स्वास्थ्य संस्थाको सेवा प्रवाह र जनशक्तिको अवस्था कस्तो छ ?

हाल वीरेन्द्रनगर नगरपालिकाका प्रत्येक वडामा आफ्नै भवनसहितका स्वास्थ्य संस्था स्थापना भएका छन् । प्रत्येक स्वास्थ्य संस्थामा नेपाल सरकारले तोकेको मापदण्डअनुसार स्वास्थ्यकर्मीको व्यवस्था पनि छ । संघीय सरकारको निर्णयअनुसार नगर अस्पतालको शिलान्यास गरी निर्माणका लागि टेण्डर प्रक्रियामा छ । त्यस्तै, वीरेन्द्रनगर नगर कार्यपालिकाको निर्णयअनुसार साविकको कटकुवा हेल्थपोष्टलाई नगर कोभिड अस्पतालको रुपमा संञ्चालन गरिरहेका छौं । यस अर्थमा भन्दा हाम्रो स्थानीय सरकारको क्षमता र अहिलेको अवस्थालाई हेर्दा स्वास्थ्य जनशक्ति, स्वास्थ्य संस्था र सेवा प्रवाहको अवस्था सन्तोषजनक नै छ ।

तपाई निर्वाचित भएपछि स्वास्थ्य क्षेत्रमा भएका सुधारहरु के–के हुन् ?

म निर्वाचित हुनु पहिले वीरेन्द्रनगर नगरपालिकामा ५ वटा स्वास्थ्य चौकी मात्रै थिए । अहिले नगरका १६ वटै वडामा आफ्नै नयाँ भवनसहित स्वास्थ्य संस्था स्थापना गरेर सेवा दिइरहेका छौं । नगरका सबै स्वास्थ्य संस्थाहरुमा सरकारले तोकेका सबै प्रकारका औषधी उपलब्ध गराएका छांै । हाल सबै स्वास्थ्य संस्थामा कम्तीमा ३ देखि ५ जना स्वाथ्यकर्मीको दरबन्दी छ । तुलनात्मक हिसाबले भौतिक पूर्वाधार र जनशक्तिको अवस्था राम्रै छ । यस्तै, आमा सुरक्षा कार्यक्रम, वीरेन्द्रनगर नगरपालिका भित्रका किशोरी तथा महिलालाई निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम तीब्र पारिएका छन् । त्यस्तै, महिलाहरुलाई घरमा सुत्केरी नभई नजिकको वर्थिङ सेन्टर वा अस्पताल मै सुत्केरी हुन पे्ररित गरिरहेका छौं । जसका लागि अस्पताल जान निःशुल्क एम्बुलेन्सको व्यवस्था, जेष्ठ नागरिकलाई वडा तहमै गएर स्वास्थ्य जाँच गरी आवश्यकताअनुसार नगरले दिनसक्ने औषधीको समेत व्यवस्था मिलाएका छौं ।

त्यसो भए नगरका सबै नागरिकले आधारभूत स्वास्थ्य सेवा सहज रुपमा पाएका छन् ?

हो सबै नागरिकले आधारभूत स्वास्थ्य सेवा सहज रुपले नै पाएको हाम्रो दावी छ । नेपाल सरकाले तोकेको मापदण्डअनुसारका स्वास्थ्य सामाग्री, औषधी र सेवाहरु हामीले प्रदान गरेका छौं । नरपालिकाका कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्ने अवस्था छैन ।

कोभिड–१९ नियन्त्रणका लागि वीरेन्द्रनगर नगरपालिकाले के कस्ता प्रयास गरिरहेको छ ?

यसका लागि गत वर्षदेखि वीरेन्द्रनगर नगरपालिकाले पिसिआर र एन्टिजेन्ट चेक निःशुल्क गरिरहेको छ । नगर कोभिड अस्पताल निर्माण गरेर बिरामीको निःशुल्क उपचार गरिरहेका छौं ।

साथै नगर कोभिड नियन्त्रण व्यवस्थापन समितिमार्फत निःशुल्क एम्बुलेन्स, बिरामीलाई खाना, औषधीको व्यवस्थापनका साथै कोभिड–१९ संक्रमण भएर मृत्यु भएकाहरुको व्यवस्थापनको काम पनि गरिरहेका छौं । होमआइसोलेसनमा रहेका कोभिड–१९ संक्रमितहरुलाई नगरपालिकाले नियमित सम्पर्क गर्ने, काउन्सिलिङ गर्ने, जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहितको टोली घरघरमा पुग्ने, औषधीसहितको किट वितरण गर्ने कामहरु जारी छन् । यिनै विभिन्न कार्यले संक्रमित बिरामीको आत्मबल बढाउने गरी सेवामुलक काम गरिरहेका छौं ।

वीरेन्द्रनगरमा अक्सिजन प्लान्ट सञ्चालनको तयारी कहाँ पुग्यो ?

नगरपालिका आफैले अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया अघि बढाएको छ । जसका लागि चौधरी फाउन्डेसनको सहयोगबाट वीरेन्द्रनगरमा अक्सिजन प्लान्ट स्थापना गर्दैछौं । यसले कर्णाली प्रदेश राजधानीको विद्यमान अक्सिजन अभाव हट्ने अपेक्षा छ । वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरिरहेको कोभिड अस्पतालमा अहिले पनि विभिन्न जिल्लाका संक्रमितहरु उपचाररत छन्।

नगरमा अक्सिजन प्लान्ट स्थापना भए समग्र कर्णालीकै नागरिकले सहज सेवा पाउने छन् । अहिले नगर कोभिड अस्पतालमा २५ बेड अक्सिजनसहित सञ्चालन छ । अक्सिजन प्लान्ट स्थापना भएमा थप ५० बेड विस्तार गर्ने योजना छ ।

कोभिड–१९ माहामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रलाई थप बलियो बनाउने योजनाबारे केही बताइदिनुहोस् ?

हामीले विगतको वर्ष धेरै समस्याहरु झेल्यौं । अब हामी अलमलिदैनौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि दोस्रोसँगै तेस्रो भेरियन्ट रोकथामको तयारीमा नगरपालिका लागेको छ । यसका लागि आगामी आर्थिक वर्षका लागि बजेट छुट्याउने, औषधी, अस्पताल र बेडको व्यवस्थापन गर्नेलगायतका योजना बनाउने तयारी छ । टोल विकास संस्था, नागरिक समाजका अगुवाहरु र महिला स्वास्थ्य स्वयंम सेविकाहरुलाई अझै सक्रिय बनाएका छौं ।

नगर कोभिड अस्पताललाई अझै व्यवस्थित गर्ने, आईसीयु कक्षसहितको उपचार दिने गरी सेवा थप्ने तयारी छ । कोभिड–१९ को तेस्रो भेरियन्टबाट बच्न आम नागरिकमा चेतना वृद्धि तथा सरसफाइका कार्यक्रम अघि बढाएका छौं । समग्रमा कोभिड–१९ संक्रमितलाई उपचारसहित आत्मबल बढाउने गरी परामर्शका काम निरन्तर अघि बढाउने तयारी छ । र अन्त्यमा स्वास्थ्य मापदण्ड पालना गरिदिन सबै नगरवासीलाई अनुरोध गर्छु ।