काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको निर्णय लत्याएर नीतिहीन गठबन्धनको भर्याङ चढेर सरकारमा जान खोज्नु अराजनीतिक र झेली काम भएको टिप्पणी गरेका छन् । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले संसदीय दलको निर्णय नमान्ने राजनीतिक दलका गुटगत पद्धति राजनीतिक अस्थिरताको कारण भएको दावी गरे । उनले निर्वाचनमा जानुलाई प्रतिगमन भन्नु जनताको सार्वभौम अधिकारलाई अस्वीकार गर्नु रहेको उल्लेख गरे ।
उनले भने–‘लोकतान्त्रिक पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्न गरिने छ । निर्वाचन निष्पक्ष हुने कुरामा मैले बारम्बार प्रतिबद्धता जनाएको छु । निर्वाचनका लागि सबै दलहरूलाई सरकारमा सहभागी बन्न आग्रह गर्दछु ।’
उनले आफूले प्रतिनिधि सभा पुरै अवधी चलोस् भनेर कुनै कसर बाँकी नराखेको पनि दावी गरे । उनले आफ्नो प्रयासलाई सफल हुन नदिइएको दावी गर्र्दै संसद पूरै चल्नु वा सरकारले ५ बर्ष पूरा गर्नुपनि राजनीतिक स्थायित्वका लागि प्रयाप्त नहुने उनले बताए ।
उनले भने–‘राजनीतिक स्थायित्वका लागि नीतिगत निर्णय, कार्यहरुको निरन्तता र कार्यान्वयनको सुनिश्चितता हुनु हो । राजनीतिक स्थायित्व राष्ट्रियताको संरक्षण र सम्बर्द्धन हो । हामी जनताको हित हुने किसिमको राजनीतिक स्थायित्वको पक्षमा छौँ ।’ उनले आफ्नो लागि सत्ता साधन मात्र भएको र साध्य नभएको दावी गरे ।