काठमाडौं -प्रतिनिधि सभा विघटनबारे परेका १९ रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो एकल इजलासमा राख्नुभएको छ।
सर्वोच्च अदालत प्रशासनले दिएको जानकारी अनुसार राणाले आज १९ रिटको सुनुवाइ गर्दैहुनुहुन्छ । राणाले सुनुवाइ गर्न लागेका सबै रिटमा राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाइएको छ।
यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत विषयमा सर्वोच्चमा रिट परेका थिए।
सर्वोच्चमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनु पर्नेमा पनि रिट परेका छन्।
यस्तै प्रतिनिधि सभा पुनर्स्थापना भए पनि ओलीलाई नै निरन्तरता दिनुपर्ने मागसहित ४ रिट परेका छन्।
कांग्रेस सभापति देउवासहित १४६ सांसदले हालेको सहित ११ वटा रिटको सुनुवाइ शुक्रबार संवैधानिक इजलासमा हुने सर्वोच्चले जनाएको छ।