सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मल्लको कोरोनाबाट निधन

कैलाली – सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको उपचारको क्रममा निधन भएको छ ।

लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको कोरोना संक्रमणका कारण निधन भएको हो ।

उनको काठमाडौँस्थित निदान अस्पतालमा उपचाररत मल्लको आज बिहान ७ बजेतिर निधन भएको मल्लका तत्कालीन स्वकीय सचीव धनसिंह साउदले जानकारी दिए ।

चार दशकभन्दा अघिदेखि कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै का नेपाली कांग्रेसका महासमिति सदस्य समेत भएका थिए ।

बि।सं २०३७–२०४६ सम्म राष्ट्रिय पंचायतका सदस्य भएका थिए । २१ वर्षको उमेरबाट राजनीतिमा लागेका मल्लले २०२८ सालमा डोटी बोगटान अन्तर्गत पण्डौन गाँउ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष , ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार र त्रिभुवन विश्व विद्यालयको सभासद भएका थिए ।

पञ्चायत र पछिका दिनमा राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभा अघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कैलालीको भजनी नगरपालिका –१ मा जन्मेका मल्ल त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर हुन ।

उनले स्नातकोत्तरमा प्रथम श्रेणीमा प्रथम भएर महेन्द्र भुषण पदक पनि पाएका थिए । उनले विद्यालय, प्रमाणपत्र र स्नातक तहको अध्ययन भारतको उत्तरप्रदेश राज्यको लखनउबाट पुरा गरेका थिए । मल्लका १ छोरा र १ छोरी छन् ।