काठमाडौं – पूर्व सभामुखहरुले प्रधानमन्त्री केपी शर्मा ओली संसदप्रति इतिहासमै सबैभन्दा अनुदार प्रधानमन्त्री रहेको टिप्पणी गरेका छन् । मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले नयाँ बानेश्वरमा पूर्व सभामुखसँगको अन्तरक्रियामा उनीहरुले यो कुरा बताएका हुन् ।
सरकारले दोश्रो पटक प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सभामुख सापकोटाले पूर्व सभामुखहरूसँग परामर्श लिइरहेका छन् । छलफलका क्रममा उनीहरुले सर्वोच्च अदालतको आदेशको अवमूल्यन गर्दै दोश्रो पटक प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक कदम भएको बताएका छन् । कोरोना महामारी रोक्न सरकारले अन्य दलहरूसँग समन्वय गर्नुपर्ने बेलामा चुनाव घोषणा गरेर पौंठेजोरी खोज्नु अलोकतान्त्रिक भएको टिप्पणी उनीहरुले गरेका छन्
जुन संसदमा प्रधानमन्त्रीमा नियुक्त भए त्यही संसदलाई देखिनसक्ने प्रधानमन्त्री ओलीले दुई दुई पटक संसद भंग गरेर इतिहासमै सबैभन्दा ठ्रलो अपराधपूर्ण काम गरेको उनीहरुले बताएका छन् । आन्दोलन र संघर्षबाट प्राप्त व्यवस्था तहसनहस पार्न लागेकोले त्यसलाई जोगाउनु अहिलेको मुख्य कार्यभार रहेकोमा उनीहरुको जोड छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटा, पूर्व सभामुखहरू रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती, कृष्णबहादुर महरा सहभागी रहेका छन् भने सुवास नेम्वाङ भने सहभागी छैनन् । पूर्व सभामुख रानाभाट जुमबाट बैठकमा सहभागी छन् भने दमननाथ ढुङ्गाना पनि जुम प्रविधिबाट बैठकमा सहभागी हुने प्रयासमा रहेको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विघटन गरेर चुनाव घोषणा गरेपछि आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारेमा सभामुख सापकोटाले परामर्श गरिरहेका छन् ।- रातोपाटी