भारी हिमपात र वर्षा हुँदा हुम्लाको रानीखर्कमा ५० भेडाबाख्रा मरे

हुम्ला – केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन्।

नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन्।

वर्षाको समयमा उच्च हिमाली क्षेत्रमा चरनका लागि लगेको भए पनि अत्यधिक हिमपात हुँदा घरमा ल्याउँदै गर्दा १५० भेडाबाख्रामध्ये ५० वटा हिउँमा परेर मरेको र बाँकी बाख्रासमेत झोक्राएर बस्ने गरेको बुढाले जानकारी दिए। उपचारका लागि सहयोग गरिदिन उनले आग्रह गरेका छन्‌।

​दशकौँपछि एक्कासी वैशाखमा भएको हिमपातले आफ्नो रोजीरोटी खोसिएको उनको भनाइ छ। जिल्लामा एउटा भेडाको मूल्य १० हजार रुपैयाँसम्म पर्छ।