जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुर्खेतका एक कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचारतार्थ सुर्खेत चौकुने गाउँपालिका – १० का ३८ वर्षीय जगतबहादुर शाहीको आइतबार विहान कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको हो । उनी १० दिनदेखि अस्पतालमा उपचाररत थिए ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक युवन चौधरीकाअनुसार बाहिर जिल्लाका जुम्ला अस्पतालमा कोभिड–१९ का कारण मुत्यु भएको दोस्रो घटना हो । यसअघि जुम्ला अस्पतालमा कालिकोट तिलागुफा नगरपालिका– ३ का ६७ वर्षीय सिंहबहादुर शाहीको कोभिड–१९ बाट मुत्यु भएको थियो ।
नन्दावक्स गण जुम्लाका गणपति दिवाकर रायमाझीका अनुसार जुम्ला अस्पतालमा दोस्रो पटक मृत्यु भएका कोभिड–१९ संक्रमितको शव यहाँको चन्दननाथ नगरपालिका–१ दानसाँघुमा अन्त्यष्टि गर्ने तयारी गरिएको छ ।
यसअघि शवघाटको व्यवस्थापन नहुँदा संम्बन्धित जिल्लामा शव लिनु परेको थियो । उनले भने, ‘जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले यहाँको चन्दननाथ नगरपालिका– १ को दानसाँघु र ९ नम्बर वडाको गमगाडमा शवघाट तोकेपछि सहज भएको हो ।’