अत्याधिक रक्तश्रापले १९ बर्षिया सुत्केरी किशोरीको ज्यान गयो

सुर्खेत – अत्याधिक रक्तश्रापले कालिकोटकी १९ बर्षिया सुत्केरी किशोरीको मृत्यु भएको छ । जिल्लाको रास्कोट नगरपालिका ६ कि १९ वर्षीया निशा फर्सालको अत्याधिक रत्तश्रापको कारणले मंगलवार बिहान ज्यान गएको हो ।

उनलाई सुत्केरी व्यथा लागेपछि सोही नगरपालिकामा रहेको स्युना अस्पतालमा लगिएको थियो । तर त्यहाँ दक्ष जनशक्तिको अभाव हुदाँ तत्कालै सोही नगरपालिकामा रहेको रास्कोट सामुदायिक अस्पतालमा रेफर गरियो । त्यहाँ भिडियो एक्सरे गरेपछि उनको अवस्था सामान्य रहेको भन्दै सामुदायिक अस्पतालका चिकित्सकले घर जान सल्लाह दिए । तर घरमा पुगेपछि सुत्केरी व्यथाले थप च्यापेपछि निशालाई पुन स्यूना स्वास्थ्य चौकी लगियो । स्यूना स्वास्थ्य चौकीमा छोराको जन्म दिनइसकेपछि अत्यधिक रत्तश्राव भएको स्वास्थ्य चौकीका अहेव धुर्व फडेराले बताए ।

उनका अनुसार छोरा जन्माइसकेपछि केही समयपछि अत्यधिक रगत बग्यो । डाक्टरहरुले सक्दो उपचार गरिरहेका थिए । तर उनलाई बचाउन सफल भएनन् । आमाको मृत्युपछि बच्चाको अवस्था भने सामान्य रहेको अहेव फडेराले बताए । मंगलबार विहान ५ बजे स्युना स्वास्थ्य चौकीमा नै उनको मृत्यु भएको हो ।

तर रक्रश्रापले थला परेकी सुत्केरी किशोरीलाई बचाउन राष्टपति सुत्केरी उद्धार कार्यक्रमले सहयोग नगरेको आफन्तको गुनासो छ । व्यथाले बिछिप्त भएकी किशोरीको चिच्यावट नत स्वास्थ्यकर्मीले बुझे नत राष्टपति गर्भवति तथा सुत्केरी उद्धार कार्यक्रमले सुनेको आफन्तले गुनासो गरेका छन् । दुर्गममा दक्ष स्वास्थ्यकर्मी नभएकै कारण समयमै उपचार तथा उद्धार हुन नसकेर कालिकोटका धेरै महिलो अकालमा ज्यान गुमाउनु परेको छ ।