केही नेताका विभाजनकारी सोचले एमाले र माओवादी एकीकरण निष्कर्षमा पुग्न सकेन :प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न लागिपर्ने बताउनुभएको छ ।

सोमबार मदन भण्डारी र जीवराज आश्रितको २८ औं स्मृति दिवसमा विज्ञप्ति जारी गर्दै ओलीले भन्नुभएको छ “एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरूपमा एमाले पुनर्स्थापित भएको छ। हामी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृत संकल्पित छौं”

जनताको बहुदलीय जनवादको रक्षा गर्दै कार्यान्वयन र विकास गर्दै जाने र तीन वर्षअघि एमाले र माओवादी एकीकरण गरिएको सम्झँदै कतिपय नेताका कारण एकीकरण निश्कर्षमा नपुगेको बताउनुभएको छ ।

‘ यस्तै तीन वर्षअगाडि आजकै दिन एमाले र माओवादी एकीकरण गरेका थियौं। विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने त्यो हाम्रो इमान्दार प्रयास थियो, ‘तर कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरण अभियान निष्कर्षमा पुग्न सकेन।’ उहाँले बताउनुभएको छ ।