काइके गाउँपालिकाका प्रत्येक परिवारलाई खाना पकाउने ग्यास र चुलो वितरण

जाजरकोट- डोल्पाको काइके गाउँपालिकामा सबैै घरपरिवारलाई खाना पकाउने ग्यास र चुलो वितरण गरिएको छ।

दाउराको अभावमा खाना पकाउन समस्या परेको भन्दै गाउँपालिकाले प्रतिघर दुईवटा ग्यास सिलिन्डर र एउटा चुलो वितरण गरिएको गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिए। प्रत्येक वडामा समिति बनाएर ग्यास खरिद तथा वितरण गरिएको छ। दुई हजार वटा सिलिण्डर र एक हजार ५० वटा चुलो वितरण गरिएको प्रवक्ता रोकायले जनाकारी दिए।

एक करोड एक लाख २५ हजार रुपैयाँमा उपभोक्ता समितिमार्फत ग्यास खरिद गरिएको प्रवक्ता रोकायाले जानकारी दिए। वन जंगल संरक्षण तथा सर्वसाधरणलाई धुवाँबाट बचाउन उक्त अभियान सञ्चालन गरिएको गाउँपालिकाले बताएको छ।

अत्यधिक चिसो हुने यस ठाउँमा दाउराबाट आगो बाल्न मुस्किल हुनुका साथै काममा निस्किँदा समेत छिट्टै आगोको जोहो गर्न समस्या भएपछि ग्यासको अवधारणा ल्याइएको प्रवक्ता रोकाय बताउँछन्। ग्यास सिलिन्डर नेपालगञ्जमा खरिद गरिएको हो। त्यहाँबाट जाजरकोट हुँदै डोल्पासम्म गाडीमा ढुवानी गरिएको हो। दुनैबाट काइकेसम्म खच्चडमा बोकाएर ढुवानी गरिएको थियो।

सातवटा वडा रहेको गाउँपालिकाको कुल जनसंख्या पाँच हजारको हाराहारी छ। सरकारी कार्यालय, प्रहरी चौकी र विद्यालय गरी जम्मा एक हजार ५० घरधुरी छ। thahakabar