सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा, कार्यान्वयनमा कडाई गरिने

प्रजिअ भन्छन्, स्थानीयले निषेधाज्ञा ख्याल ठट्टा ठाने, अब कडाइ गछौैं

सुर्खेत – सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा लागु गर्दै कडाई गर्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार शुक्रबार रातीदेखि लागुहुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने तयारी गरिएको हो । यसअघि लागु भएको निषेधाज्ञाको अन्तिम मिति भोली सकिदैछ ।

यसअघि लागु भएको निषेधाज्ञा कार्यान्वयनमा स्थानीयले ख्याल ठट्टा गर्न थालेपछि अब लागुहुने निषेधाज्ञा अवधिमा प्रशासन थप कडाई गर्ने तयारीमा छ । कोरोना संक्रमणसँगै मृतक संख्या बढ्दै गएपनि स्थानीयले निषेधाज्ञा उल्लंघन गर्न थालेपछि प्रशासन कडाई गर्ने तयारीमा लागेको हो ।

हालको स्थितीलाई हेर्दा निषेधाज्ञा थपेर कडाई गर्नुको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । उनका अनुसार अब थपिने निषेधाज्ञा अवधिमा कोही कसैले पनि निस्फिक्रि हिडडुल गर्न तथा व्यवसाय संचालन गर्न पाउने छैनन् ।

‘निषेधाज्ञा कडाईमा अरु भन्दा भारतबाट आउनेलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ । उता बाँकेले भारतबाट आउनेलाई रोकेको छैन । हामीले हाम्रा सिमा नाका बबई लगाएत क्षेत्रमा रोके कसले उनीहरुलाई पाल्ने र कहाँ राख्ने ? भन्ने समस्या छ’ उनले भने, ‘यसअघिको निषेधाज्ञामा विकास निर्माणका काम जारी राख्ने र अत्यावश्यक पसल तथा कार्यालय खोल्ने भन्ने थियो । जसका कारण कर्मचारीदेखि मजदुरहरुको नाममा आउजाउ बढ्नथाल्थ्यो । अब यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा छलफल भइरहेको छ ।’

यस पटक फैलिएको कोरोना भाइरसलाई स्थानीयले गत बर्ष जस्तो ख्याल ठट्टा ठानेर मापदण्ड उल्लंघन गर्दै गएको प्रजिअ रिजालको भनाइ छ । सबैले कोरोना भाइरसलाई सामान्य ठानेर निषेधाज्ञा उल्लंघन गर्ने र स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने मर्नेको संख्या ह्वात्तै बढ्ने उनको अनुमान छ ।

‘कोरोनाले दिर्घ रोगीलाई मात्रै असर गर्छ भन्ने स्थानीयको बुझाई छ । तर यो बर्ष दिर्घ रोगी मात्रै नभर्य रोग नै नभएकाहरु पनि धमाधम संक्रमणबाट मरिरहेका छन् । निषेधाज्ञा कडाई गर्न र कोरोना रोकथाम तथा नियन्त्रणका लागि के गर्न सकिन्छ भन्नेबारे स्थानीय तहका जनप्रतिनिधिहरुसँग भर्चअल बैठक जारी छ’ उनले थपे, ‘सबैको सपोर्टले निषेधाज्ञा कडाइ गरी कोरोना रोकथाममा लाग्नेछौं । त्यसैले निषेधाज्ञा तथा स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा अनुरोध छ। ख्याल ठट्टा ठानेर आफु र आफ्ना परिवारको ज्यान खतरामा नपारौं । बचौं र बचाऔं ।’